१० श्रावण २०८१, बिहीबार

खरका छाना हटाएर जस्तापाता




कञ्चनपुर /
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ ।

जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनेटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलवध गराइएको छ ।

नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनेटमा परेका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नम्बर १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ का १० परिवार छनेटमा परेका छन् ।

छनेटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रूपमा ३० हजार रकम बैंक खातामार्फत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताए ।

घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवारको छनेट गरी रकम उपलवध गराएका छौ, उनले भने, छनेट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोलेपछि अनुदान सम्झौता भइसकेका लाभग्राहीलाई जस्तापाता, काठलगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराइएको छ ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७७ अनुसार अनुदान उपलवध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्तावापत साठी प्रतिशत रकम उपलवध गराइने व्यवस्था छ ।

लाभग्राहीले सो रकम जस्तापाता र काठलगायतका सामग्री खरिद गरी निर्माण अघि बढाउनका लागि खर्च गर्नुपर्ने हुन्छ, सूचना अधिकारी फुलाराले भने–प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठलगायतको सामग्री खरिद गरी निर्माण सम्पन्न भएको भनी नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसका आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्तावापतको २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलवध गराइने छ ।

प्राविधिकबाट अनुुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ । संविधानको मौलिक हकअन्तर्गतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘नगरपालिकामा बसोबास गर्ने सबै नागरिकसँग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडि बढाएका छौ।

कार्यक्रमअन्तर्गत अत्यन्तै जोखिममा रहेका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनेट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलवध गराइएको छ ।

सुरक्षित आवास निर्माणपछि आगो, हावाहुरी, वर्षा, हिंस्रक जनावर र सर्पलगायतका विषालु जीवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उनले बताए । ‘सहज सुरक्षितरुपमा घरमा बस्न सकुन भनेर विपन्न परिवारलाई कार्यक्रममा समेटेका छौ, उनले भने ।

नगरपालिकाको वडा नम्बर १ का सेरे सार्कीले काठको कच्ची घरमा आर्थिक अवस्था कमजोर हुँदा टायलसमेत राख्न नपाइएको अवस्थामा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि काठ र जस्तापाता खरिद गर्न रकम प्रदान गरेपछि निकै सहज भएको बताए ।

दैनिक ज्याला–मजदुरी गरी जीविका चलाउँदै आएका छौ, उनले भने, त्यसले साँझ–बिहानको खाना खर्च चलाउनमै ठिक हुन्छ । सुरक्षित घर निर्माणका लागि रकम जम्मा गर्न नसक्दा हावाहुरी आउँदा खरले छाएको छाना उडाएर बिजोग नै बनाउँदथ्यो । वर्षातको पानी चुहिएर निथु्रक्क भिजेर बस्नुपर्ने अवस्था थियो ।

नगरपालिकाले बैंकमा खाता खोल्न लगाएर त्यसमा पैसा उपलवध गराएपछि घरको छानामा जस्तापाता राख्नका लागि निकै सहज भएको छ ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ को दफा ६ बमोजिम कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी अनुदान रकम लिएको पाइए वा जुन प्रयोजनका लागि अनुदान रकम उपलवध गराइएको हो ।

सोही प्रयोजनका लागि खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाइएमा अनुदान रकम नगरपालिको असुलउपर गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार