सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट थप दुईको मृत्यु
धनगढी / सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कैलालीका अनुसार गत पुस २७ गते मोटरसाइकलवाट लडेर घाईते भएका उनी धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचाररत थिए ।
उनको गत ७ गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचार भैरहेको थियो ।
त्यस्तै, कैलालीको बर्दगोरिया गाउपालिका–४ का एक ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रबार प्रदेशमा चार सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, दीपायलका अनुसार शुक्रबार एन्टिजेन विधिबाट एक हजार तीन सय ९९ जनाको परीक्षण गरिएकोमा दुई सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पीसीआर विधिबाट दुई सय ९४ जनाको परीक्षण गर्दा एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या करिब पाँच हजार पुगेको छ ।
प्रदेशमा शुक्रबारसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये दुई हजार नौ सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये दुई हजार ५५ जना सक्रिय सङ्क्रमित रहेको निर्देशनालयको अभिलेखमा उल्लेख छ ।