१० श्रावण २०८१, बिहीबार

इन्सेक वर्ष पुस्तक प्रकाशन पूर्व समिक्षा



बैतडी / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानव अधिकार वर्ष पुस्तक, २०२२ को प्रकाशन पूर्वको वार्षिक समिक्षा मंगलबार बैतडीमा भएको छ ।

सो अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकमा गाउँगाउँमा हुने मानव अधिकार हनन्का घटनाहरू पनि समेटिनु पर्ने बताए ।

उनले इन्सेक मानव अधिकार वर्ष पुस्तकका कारण मानव अधिकार हनन्का घटनामा कमी ल्याउन मद्दत पुगेको चर्चा गर्दै प्रहरीमा दर्ता नभएका र कुनै पनि कारणले सार्वजनिक हुननसकेका घटनाहरू पनि समेटिनु पर्ने बताए ।

प्रमुख जिलला अधिकारी पाण्डेले भने– इन्सेकको मानव अधिकार वर्ष पुस्तकका कारण मानव अधिकार हनन्का घटनामा क्रमिक रुपमा कमी आइरहेको छ । अझै गाउँगाउँसम्म पुगेर प्रहरी कार्यालयमा दर्ता नभएका वा लुकेका मानव अधिकार हनन्का घटनालाई पनि समेट्ने प्रयास गरिनु पर्दछ ।

उनले इन्सेक वर्ष पुस्तकका कारण राज्यलाई मानव अधिकारको रक्षाका लागि जिम्मेवार बनाउन योगदान पुगेको चर्चा गरे ।
कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य सरस्वती नेपालीले जनताले नागरिक तथा राजनीतिक अधिकार उपभोग गर्न पाए पनि अझैं आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको सहज उपभोगमा कठिनाई रहेको बताइन् ।

सो अवसरमा इन्सेक बैतडी प्रतिनिधि नरि वडूले सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका ७२ वटा मानव अधिकार उल्लङ्घनका घटनाको विवरण प्रस्तुत गरेका थिए ।

इन्सेक प्रतिनिधि वडूका अनुसार सो अवधिमा बैतडीमा बलात्कार तथा यौन दुव्र्यवहारका १० वटा, बहुविवाहका दुई, हत्याका पाँच र घरेलु हिंसाका ५२ वटा घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार