नगरपालिकाको सबै वडामा कालोपत्रे सडक विस्तारको योजना

धनगढी / कैलालीको भजनी नगरपालिकाले चालू आर्थिक वर्षमा सबै वडामा एउटा–एउटा कालोपत्रे सडक बनाउने तयारी भएको छ ।
भजनी नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार हरेक वडामा एक/एक वटा पिच सडक बनाउन लागेको हो । केही वडामा सडक निर्माणको कार्य सुरु भइसकेको छ ।
नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २, ८ र ९ मा सडक निर्माणको कार्य सुरु भइसकेको हो । ती सडकहरूमा अहिले रोलिङ, ग्राभेल हाल्ने लगायतका काम भइरहेको नगरपालिकाका इन्जिनीयर विष्णु जोशीले बताए ।
उनका अनुसार वडा नम्बर २ को रजवारा गाउँमा १० लाख रुपैयाँ लागतमा पिच सडक बनिरहेको छ । सो सडकको लम्बाइ २२० मिटर रहेको जनाइएको छ ।
यसैगरी, वडा नम्बर ८ मा गोडचौराको डबलपुलदेखि वडा कार्यालयसम्म जाने बाटो निर्माणको कार्य भइरहेको छ । सो ठाउँमा १९ लाख रुपैयाँ लागतमा ३०० मिटर लामो कालोपत्रे सडक बन्ने जनाइएको छ । यस्तै, वडा नम्बर ९ मा १७ लाख रुपियाँ लागतमा २६८ मिटर कालोपत्रे सडक बनाउने कार्यको सुरुवात गरिएको छ ।
अहिलेसम्म तीन वटा वडामा बन्ने सडककोमात्रै सम्झौता भएर काम भइरहेको इन्जिनीयर जोशीले बताए । बाँकी वडामा बन्ने सडकको सम्झौता हुनै बाँकी रहेको छ, उनले भने तीन वटा वडामा भने काम अगाडि बढेको छ ।
भजनी नगरपालिका कैलालीको विपद्ग्रस्त स्थानीय तहको रुपमा चिनिन्छ । यो नगरपालिकाले हरेक वर्ष बाढी, डुबान जस्ता प्राकृतिक विपद्को सामना गर्दै आएको छ । विपद् आइरहने कारणले यो नगरपालिकामा प्रायःजसो रोड कच्ची रहेका छन् ।
एक वडामा कम्तीमा पनि एउटा कालोपत्रे सडक हुनु पर्ने नगरवासीको चाहनानुसार एक वडा एक कालोपत्रे सडक निर्माण गर्ने नीति लिएको वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरीले बताए ।
सो नीति अनुसार कतिपय वडामा सडक निर्माणको काम सुरु भइसकेको छ भने कतिपयमा सुरु हुन अझै बाँकी रहेको छ, उनले भने ।
नगरपालिकाले एक वडामा एक कालोपत्रे सडक निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वडा नम्बर १ को भजनी क्षेत्र पिच सडकका लागि १० लाख रुपैयाँ वडा नम्बर ३ को थेकीपुर कालोपत्रे सडक बनाउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, वडा नम्बर ४ को बिजुलियामा पिच सडक बनाउन आठ लाख, वडा नम्बर ५ को कालातातलदेखि भगतपुरसम्म सडक बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, वडा नम्बर ६ को विष्णापुर र वडा नम्बर ७ मा कालापत्रे सडक निर्माणका लागि क्रमशः २४ लाख ५० हजार र १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिले सम्झौता भइसकेका सडक निर्माणको कार्य उपभोक्ता समितिमार्फत भइरहेको इन्जिनीयर जोशीले बताए ।




