६ पुष २०८२, आईतवार

प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण




धनगढी / सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार पदभार ग्रहण गरेका छन्् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख जोशीले पदबहाली गरे ।

सरकारले पूर्ववर्ति ओली सरकारद्वारा नियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्दै जोशीलाई नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गरेको हो ।

मंगलबार नियुक्त प्रदेश प्रमुख जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । सुदूरपश्चिममा प्रदेश प्रमुख हुने जोशी चौथो व्यक्ति हुन् ।

प्रदेश प्रमुखका रुपमा वर्तमान सरकारले नियूक्त गरेकोमा आभार व्यक्त गर्दै उनले संविधानमा व्यवस्था गरे बमोजिम प्रदेशको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बाजुराको बुढीगंगा नगरपालिका कोटबाडा निवासी चैतन्यप्रसाद जोशी र नन्दादेवी जोशीपुत्र ५८ वर्षीय देवराजले बाजुरामा ०४७ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति थालेका थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत किर्तिपुर क्याम्पसबाट अंग्रेजीमा स्नातक जोशी ०३९ मा कैलाली बहुमुखी क्याम्पसमा आइकम अध्ययनरत रहेकै बेलादेखि नेविसंघको राजनीतिमा आबद्ध भएका थिए ।

त्यसअघि दुई वर्ष शिक्षण पेसा गरेका उनले ०४७ जनआन्दोलनको सफलतापछि कांग्रेसद्वारा बाजुरामा गठित नागरिक अधिकार सुरक्षा समितिको अध्यक्ष भएका थिए । त्यसै वर्ष पहिलोपटक उनी कांग्रेस बाजुराको जिल्ला सदस्य भएका थिए ।

०४८, ०५१ र ०६४ सालको आम निर्वाचनमा बाजुराबाट चुनाव लडेका उनले ०४८ को प्रतिनिधिसभा र ०६४ को संविधानसभा निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए । ०५१ सालमा भने उनी हारेका थिए । ०४८ सालमा प्रतिनिधिसभामा निर्वाचित हुँदा उनको उमेर २७ वर्षमात्र थियो । त्यस बेलाको प्रतिनिधिसभामा जोशी सबैभन्दा कम उमेरका थिए ।

०५१ मा पराजित भए पनि ०६४ को निर्वाचनको विजय प्राप्तिपछि कांग्रेसवृत्तमा अझ चर्चा कमाएका थिए । त्यसबेला कांग्रेसले सुदूरपश्चिममा दुई सिटमा मात्रै जित हासिल गर्दा उनी एक थिए । शेरबहादुर देउबाले डडेलधुरा र देवराज जोशीले बाजुराबाट मात्र चुनाव जिते । उनलाई द्वन्द्वकालमा तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरेर ८१ दिन बन्धक बनाएको थियो ।

०५७ सालमा कांग्रेस बाजुरको पार्टी सभापति भएका जोशी ०६७ सालसम्म सभापति नै रहे । त्यसबीचमा कांग्रेस विभाजन हुँदा उनी देउवाले नेतृत्व गरेको प्रजातान्त्रिकमा लागेका थिए । सुदूरपश्चिमको कांग्रेस राजनीतिमा सुरुदेखि नै शेरबहादुर देउवा निकट मानिने नेता जोशी निष्ठावान र इमान्दार छविका नेता मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार