१० पुष २०८१, बुधबार

जन्मदिनकै दिन एक युवको ज्यान गयो



धनगढी / जन्मदिन मनाउने क्रममा भएको सामान्य विवादमा एक युवकको ज्यान गएको छ । शुक्रबार राति कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८, कालीमाटीमा साथीको चक्कु प्रहारबाट १८ वर्षीय अनुप साउदको मृत्यु भएको छ ।

अनुपको जन्मदिनको पार्टीमा उनका साथीहरू समेत सहभागी रहेका थिए । पार्टीमा नाच्ने क्रममा एकले अर्कोलाई जिस्क्याउदा भजनी नगरपालिका वडा नम्बर ३, ठेकीपुरका किरण साउदले चक्कु प्रहार गर्दा अनुपको ज्यान गएको प्रहरीले जनाएको छ ।

टीकापुर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने– पार्टीमा प्रायः सबैले मदिरा सेवन गरेका रहेछन् । पार्टीमा सहभागी हरि साउदले नाच्ने क्रममा अनुप लगायतका युवाहरूले गिज्याएको भन्दै विवाद सुरु भएको रहेछ ।

सोही क्रममा अनुपका साला नाता पर्ने किरण र उनीहरूबीच हात हालाहाल भएको थिए ।

प्रहरी नायव उपरीक्षक सापकोटाका अनुसार आपसमा कुटाकुटबीच किरणले अनुपमाथि चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले अभियुक्त किरणलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार