९ कार्तिक २०७८, मंगलवार

दशैको मुखमा तलब नपाएपछि…




कञ्चनपुर / शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन्् । दशैंको मुखमा तलब नपाइने भएपछि उन निराश भएका छन् ।

तलब पाएपछि परिवारका लागि नया कपडा खरिद गरी रमाइलोसँग दशैं मनाउने योजना थियो उनले भने, तलब नै नपाइने भएपछि रमाइलोसँग दशैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ ।

नगरपालिकामा ८३ जना स्थायी, १४२ जना करार र एक जना अस्थायी गरी २२६ जना कर्मचारी रहेका छन् । कसैले पनि तलब पाएका छैनन् । त्यस्तै, आधारभूत तह र माध्यमिक तहका गरी तीन सय तथा निजी स्रोतका ८४ जना शिक्षक, १३ जना लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् ।

वडाको बजेट बाडफाँट र योजनाको टुंगो लाग्न नसक्दा कर्मचारीले तलब पाउन नसकेको बताइएको छ । वडा कार्यालयले योजना दिन ढिलाइ गरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले भने– खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दशैंमा तलब दिन सकिएन ।

तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँडमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँड हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

विवादकैबीच बजेट बाँडफाँड गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दशैंका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन ।

रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ । तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दशैंको खर्च चलाउने योजना बनाएका छन् ।

‘दशैंमा तलब पाएनौ,’ नगरपालिकाका कर्मचारी गोकुल जोशीले भने, आफन्तबाट सापटी माग्ने योजनामा छौं । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडोभन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कुँवरले जानकारी दिए ।

‘केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौ, उनले भने, खर्च बिना नै वर्षमा एक पटक आउने दशैं मनाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्