१० कार्तिक २०७८, बुधबार

प्रहरी हिरासतमै एकको मृत्यु



धनगढी / कैलालीको टीकापुर प्रहरी कार्यालयको हिरासतमा एक पुरुष थुनुवाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ३ बेतानका ३५ वर्षका धनबहादुर रानाले हिरासत कक्षभित्र शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

उनलाई भैसी चोरीको आरोपमा पक्राउ गरी थुनामा राखिएको थियो ।

जानकी गाउँपालिका वडा नम्बर १ तोरैयापुरबाट असोज २४ गते बिहान पुलुराम थारुको एउटा भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक सो भैंसी सहित धनबहादुर फेला परेका थिए । चोरीको भैसीसहित फेला परेपछि स्थानीयले धनबहादुरलाई समातेर कारबाहीका लागि प्रहरीमा बुझाएका थिए ।

उनी सोमबार बिहान ६ बजे प्रहरी कार्यालयको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो गन्जीको डोरी बनाएर घाँटीमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्