७ बैशाख २०८१, शुक्रबार

शिक्षकको गुनासो हाम्रा आधारभूत आवश्यक्ता पनि पूरा भएनन्




धनगढी /
कोभिड–१९ मा शिक्षकका चुनौती र अवसर तथा शिक्षक व्यवस्थापनमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया धनगढीमा भएको छ ।

शिक्षक दिवसको अवसर पारेर बुधबार भएको सो अन्तरक्रियामा शिक्षा विकास तथा समन्वय इकाइका प्रतापसिंह धामीले अहिलेको शैक्षिक अवस्था वारे आधार पत्र प्रस्तुत गरेका थिए ।

उनले कोभिडले धेरै समस्या पारे पनि सिक्ने अवसर पनि दिएको बताए । उनको भनाइ थियो अनलाइन कक्षा बारे सिक्न र सिकाउन पायौ, कम्प्युटर, मोवाइल लगायतका उपकरण किन्न पायौ त्यसैले कारोनाले सबै बिगारेको मात्रै होइन केही अवसर पनि दिएको छ ।

सो अवसरमा शिक्षकलाई आवश्यक सुविधा नभएको, आधुनिक उपकरणको अभाव र ज्ञानले भर्चुवल कक्षा सञ्चालन गर्न कठिनाइ भएको, भौतिकरुपमा कक्षा चलाउदा कोभिडविरुद्धका औषधिजन्य सामाग्री सेनिटाइजर, मास्कको अभाव भएको, पानी र शौचलय पर्याप्त नभएको गुनासो शिक्षकहरुले गरेका थिए ।

विपी प्राविका प्रअ जयप्रकाश मिश्रले कोभिड चर्किएको बेला विद्यालय सञ्चालन नगरेर आफूहरुले धेरैलाई जोगाएको बताए । उनले भने हामीले हरेक परिवर्तनमा सघायौ तर हामी शिक्षकका आधारभूत आवश्यक्ता कनै पनि सरकारले नदिएको गुनासो गरे ।

कार्यक्रममा शिक्षकहरु गणेश जोशी,रोमनाथ अधिकारी,धनबहादुर सिंह, गणेश नेपाली, अनेरास्ववियूका अध्यक्ष किशोर शाह लगायतले विद्यालय व्यवस्थित नभएका, शिक्षकले अझै कोरोना विरुद्धको खोप नपाएको, विद्यालय कहिले चल्ने कहिले खुल्ने वारे स्थानीयदेखि संघ सरकारले समयमै निर्णय दिन नसकेको बताएका थिए ।

शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायतका विभिन्न पेशाका अगुवाहरुको उपस्थिति रहेको सो कार्यक्रम बारे शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष हर्कबहादुर ओली, प्रदेश सदस्य धनपति ढंगेल जानकारी गराएका थिए । सो कार्यक्रमको सहजीकरण फाया नेपालका निमित्त निर्देशक शेरबहादुर बस्नेतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार