१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा : ट्रफी र खेल तालिका सार्वजनिक



धनगढी / कैलालीको धनगढीमा बुधवारबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । साथै आजै प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार बुधवार उद्घाटन खेलमा कञ्चनपुर र अछाम आमनेसामने हुने भएका छन् ।

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा आयोजना हुन गइरहेको हो । प्रदेशका नौवटै जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रतियोगिता आयोजन गर्नका लागि झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टीम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए ।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए ।

उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार विहान ८ बजे गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार