१० श्रावण २०८१, बिहीबार

ऐनको व्यवस्था विपरित परिपत्र



डोटी / जिल्ला प्रशासन कार्यालय डोटीले नागरिकता बनाउन नियमावलीमा भएको प्रावधानसँग बाझिने गरि बुवाको नागरिकता अनिवार्य चाहिने आसयको पत्र काटेको छ ।

नागरिकताको लागि आवश्यक पर्ने कागजातमा सम्बन्धमा स्थानिय पालिकाहरूलाई पठाइएको पत्रमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । बुवाको नागरिकता नभए वडा कार्यालय मार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको नागरिकता अनिवार्य पेश गर्नुपर्ने उर्दी गरेकी छन्् । ‘नागरिकता प्रमाणपत्रको सिफारिसका लागि आवश्यक कागजातहरू देहाय बमोजिम रहेकाले आफू मातहतका सम्पूर्ण वडाहरूमा सूचना सम्प्रेषण गरिदिनुहुन अनुरोध छ’ जोशीले बुधबार स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा बुवाको नागरिकता वा मृत्यु दर्ता र आमाको नागरिकता अनिवार्य गरिएको छ । बुवा वा आमाको मात्रै नागरिकता भएकोमा नागरिकता प्रदान नगर्ने संकेत पत्रले गरेको छ ।पत्रमा भनिएको छ, ‘आमाको नागरिकतामा बुवाको नाम भएको तर बुवाको नागरिकता नभएको अवस्थामा वडामार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने छ ।’ नियमावलीको नियम ३ को उपनियम ४ अनुसार नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिले नागरिकताको लागि आवेदन दिए थप कुरा बुझ्नुपर्ने भएमा मात्र स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिने व्यवस्था गरेको छ ।

नागरिकता नियमावली, २०६३ को नियम ३ अनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि बुवा वा आमा वा आफ्ना वंशजतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र र जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था छ । तीन पुस्ताभित्रका नातेदारको नागरिकता प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँग नाता खुल्ने नाता प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

यस आधारमा आमा वा बुवा दुवैको नागरिकता नभएको अवस्थामा पनि नागरिकता प्रमाणपत्र पाउन सकिन्छ । तर जिल्ला प्रशासन कार्यालय डोटीले आमाको नागरिकता हुँदाहुँदै पनि बुवाको नागरिकता चाहिने भन्दै फिर्ता गर्ने गरेको छ ।

बुवाको नागरिकता नभएकै कारण जिल्लाका दुर्गम क्षेत्रबाट आएका नागरिकहरूलाई नागरिकता नदिएरै फर्काएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नियमावलीमा भएको प्रावधानसँग बाझिने गरि लिखित पत्राचार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार