८ पुष २०८१, सोमबार

काँग्रेसद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण



धनगढी / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना मागहरूको बेवास्ता गरेकोप्रति मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

केन्द्रिय गठबन्धनको भावना अनुरुप लचिलो भइरहदा पनि सुदूरपश्चिम प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षकै भूमिकामा रहेको नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस र सुदूरपश्चिम सरकारबीच पटक पटक सम्झौता र उच्चस्तरीय वार्ता भइरहदा पनि आर्थिक वर्ष २०७८।७९ को बजेटबारे हालसम्म पनि सरकारबाट कुनै ठोस निर्णय नआएको भन्दै ध्यानाकर्षण गराउनु परेको कांग्रेस संसदीय दलले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट पाँच लाख रुपैयाँमा निर्माण सम्पन्न भएको योजनाको भुक्तानी कार्यान्वयनबारे गैरजिम्मेवारी र चरम लापरबाही भइरहेकाले तुरुन्त भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, केन्द्रिय गठबन्धन अनुरुप छलफल नहुँदा गठबन्धनको औचित्य नभएको, प्रदेश अन्तर्गत कार्यरत कर्मचारीहरूलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्नुपर्ने लगायतको माग राख्दै कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाइ ज्ञापनपत्र बुझाएको दलका नेता रणबहादुर रावलले बताए ।

यसअघि दलको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने र सरकारले वेवास्ता गरे आफुहरू वैकल्पिक मार्ग अपनाउने निर्णय गरेको प्रदेश सभा सदस्य भरतबहादुर खडकाले जानकारी दिए ।

उनले भने– हाम्रो बैठकले सरकारले गठबन्धन कायम नगरेको आभास गरेको छ । सोही अनुसार मुख्यमन्त्रीको ध्यानाकर्षण गर्ने भनिएको छ । मुख्यमन्त्रीसंगको भेटपछि थप कदम अघि बढाइने छ ।’

काँग्रेसले गत मंगलबार बसेको प्रदेश सभा बैठकमा पनि सरकारको विरोध गर्दै सांकेतिक रुपमा विरोध गरेको थियो ।

काँग्रेस विरोधमा उत्रिएपछि अहिले प्रदेश सरकारले शुक्रबार राती १२ बजेदेखि आठौं अधिवेशनको बैठक अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । प्रदेशसभा सञ्चालनका लागि पर्याप्त बिजनेस छैन ।

सोही कारण हामीले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हौं, प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्, यसमा गठबन्धनभित्रको कांग्रेसको विषय जोडिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार