नेपाली कांग्रेसको महाधिवेशन : सुदूरपश्चिमका आठ जिल्लामा पालिका अधिवेशन भए
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2019/04/590473286province-7...jpeg?resize=720%2C412)
धनगढी / १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बुधबारसम्म आठ जिल्लामा नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएको छ ।
कैलालीमा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न ढिलाई भएका कारण अहिलेसम्म वडा अधिवेशन नै हुनसकेको छैन ।
डडेल्धुरामा कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ल सहितका बहुमत पदाधिकारी तथा सदस्यहरू र पालिका तथा वडा सभापतिहरूको तीब्र विमतिबीच अधिवेशन भएको छ ।
पालिका अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम गरेको छ भने एक जिल्लामा संस्थापन इतर पक्ष अर्थात् बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला पक्षले बर्चश्व कायम गरेको छ ।
अरु जिल्लाहरूमा मिश्रित परिणाम आएको छ । केही पालिकामा निर्वाचित सभापतिहरू कुने पनि पक्षमा खुलेका छैनन ।
अहिलेसम्म प्रदेशका आठ जिल्लाका ७५ पालिकामा अधिवेशन भइसकेको छ । संस्थापन पक्षले आफूहरूले ४७ वटा पालिकामा सभापति जितेको दाबी गरेको छ भने संस्थापन इतर पक्षले २४ पालिकामा सभापति जितेको दाबी गरेको छ ।
पालिका अधिवेशन भएका आठ जिल्लामा २७ नगरपालिका छन्। जसमा आठ नगरपालिकामा संस्थापन इतर पक्षले नेतृत्व लिएको छ । भने १९ वटा नगरपालिकामा संस्थापनले जितेको छ ।
त्यस्तै, २८ गाउँपालिकाको सभापतिमा संस्थापनले पकड बनाउँदा बाँकी १६ गाउँपालिकामा इतर समूहनिकट उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन ।