नेकपा (एस) डोटी अध्यक्षको अध्यक्षमा बोगटी

धनगढी / नेकपा (एमाले) विभाजन भएपछि बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी गठन भएको छ ।नेकपा एकीकृत समाजवादीले डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार एक सय पाँच सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
नेकपा (एस) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा सो पार्टीको डोटी जिल्ला कमिटी घोषणा गरिएको हो ।
संयोजक बोगटी नेकपा (एमाले) मा हुँदा र तत्कालीन (नेकपा) हुँदा जिल्ला कमिटी सचिवालय सदस्य थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् ।
यसैगरी जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला संगठनको जिल्ला कमिटी पनि गठन गरिएको छ ।
त्यस्तै, महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्व सांसद मोहनबहादुर बमले जानकारी दिए ।
डोटीमा एमालेबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, संविधान सभा सदस्य हर्कबहादुर सिंह, पूर्व सांसद मोहन वम, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्कालगायत जनप्रतिनिधि र नेताहरू एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।




