सेतीमा लिक्विड अक्सिजन प्लान्ट
धनगढी / धनगढीस्थित सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको छ ।
यही भाद्र २१ गतेदेखि अस्पतालले लिक्विड अक्सिजन प्लान्टबाट सेवा सुचारु गरेको हो । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरी भाद्र २१ गतेदेखि सेवा दिन थालिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन भण्डारण गरेर आवश्यकता परेका बेला आपूर्ति गर्न सकिने विश्वास लिइएको छ । प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको हो । यसअघि कोभिड–१९ को दोस्रो लहर चलेको समयमा अक्सिजन नपाएर कतिपय नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको थियो ।
अब अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अस्पतालले जनाएको छ । यस्तै अस्पतालले अन्य सेवाहरू पनि सञ्चालनमा ल्याएको छ ।
विशेषज्ञ दन्त रोग सेवा, इको कार्डियोग्राफी सेवा, इण्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा, कोभिड अस्पताल तथा बाल रोग आइसियु निर्माणाधीन र अस्पताल व्यवस्थापन सूचना प्रणाली सेवाहरू सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।