१४ बैशाख २०८१, शुक्रबार

सावधान ! तपाईं प्रहरीको निगरानीमा हुनुहुन्छ



तस्बिरहरु : रोहित वम

धनगढी / सावधान ! अब तपाई राजमार्गमा कुनै अनैतिक गतिविधि वा अपराध गर्दै हुनुहुन्छ ? कैलालीको पूर्वपश्चिम राजमार्ग चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि त्रिनगर नाकासम्म यस्ता गतिविधि गर्दै हुनुहुन्छ भने तपाई प्रहरीको निगरानीमा हुनुहुन्छ ।

गत आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारले कैलालीदेखि कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरेको छ । प्रदेश सरकारले जडान गरेको सो सिसिटिभी क्यामरामार्फत प्रहरीले निगरानी गर्ने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक समारोहबीच निगरानीका उपकरणहरू सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयका सचिव चुडामणी पौडलले प्रदेश प्रहरी प्रमुख कँडेललाई ती उपकरण हस्तान्तरण गरेका थिए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सिसिटिभी क्यामेराले अपराध न्यूनिकरण, दुर्घटनाको जोखिम नियन्त्रण र प्रहरीलाई अनुसन्धानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

‘हामीले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुगोस भनेर मुख्य राजमार्गमा सिसिटिभी क्यामेरा जडान गरेका छौं । अब यसको सदुपयोग गर्ने जिम्मेवारी प्रहरीको हो’ उनले भनिन–जसरी तपाईहरू भौतिक रुपमै सुरक्षामा खटिनु हुन्थ्यो, अब त्यसरी नै प्रविधिको सही सदुपयोग गर्दै अपराध न्यूनिकरणमा खटिनुहोस ।

मन्त्री जोशीले प्रहरीलाई अपराध न्यूनिकरण गर्न र अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिमैत्री बनाउनतर्फ प्रदेश सरकार कटिवद्ध रहेको बताइन ।

प्रदेश प्रहरी प्रमुख कँडेलले प्रदेश सरकारले जडान गरेको सिसिटिभीले प्रहरीलाई अपराध अनुसन्धानमा थप सहयोग पुग्ने बताए । उनले भने– यसरी नै प्रदेश सरकारले नौ वटै जिल्लामा सिसिटिभी जडान गर्नुपर्छ ।

उनले प्रहरीले पनि प्रविधिको विकाससंगै आफुलाई पनि अपराध अनुसन्धानमा थप परिवर्तन गर्दै लग्नुपर्ने बताए । प्रदेश सचिव पौडेलले प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडानका लागि दुई करोड रुपैया विनियोजन गरिएकोमा ठेक्का प्रक्रियामा जाँदा एक करोड ७१ लाख रुपैयामा नै एक सय ३८ स्थानमा सिसिटिभी क्यामेराहरू जडान गरिएको बताए ।

उनले भने– सिसिटिभी जडानका लागि ९० वटा पोल प्रयोग गरिएका छन् । जसमा सात वटा चौकमा चौतर्फी घुम्ने सिसिटिभी जडान गरिएको छ । ती सिसिटिभीका १२ वटा स्थानमा स्टेशन मोनिटर राखिएको छ ।’

प्रदेश सचिव पौडेलले प्रदेश सरकारले सिसिटिभी जडान गरे पनि विद्युत अवरुद्ध हुँदा समस्या हुन सक्ने बताए । उनले भने– विद्युत गएपछि सिसिटिभी पनि बन्द हुने हुँदा सम्बन्धीत स्थानीय तहले सोलार सिस्टमको प्रयोग गरि सो क्यामरालाई सुचारु राख्नमा मद्दत गर्नु आवश्यक छ ।

उनले प्रदेश सरकारले चालु आर्थिक वर्षमा नौ वटै जिल्लाको सदरमुकाम, मुख्य बजार र राजमार्गमा सिसिटिभी जडान गर्ने लक्ष्य लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार