अर्थ राज्यमन्त्रीमा बोहरा नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) कि नेतृ माया तामाङ बोहरा नियुक्त भएकी छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार साँझ उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । शुक्रबार नै नियुक्त मन्त्री तारा लामा तामाङ र राज्यमन्त्री तामाङ बोहरा गाउँले दाजु वहिनी हुन ।
राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख गंगाप्रसाद यादव, सभामुख अर्जुनबहादुर थापा, नेकपा (एस) का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, मन्त्रीहरु, उपसभामुख, राज्यमन्त्रीहरु र प्रदेश सभा सदस्यहरु उपस्थित थिए ।
सुदूरपश्चिम प्रदेश सरकार चौथो पटक विस्तार तथा पुर्नगठन भएको हो । दुई जना थपिएसंगै प्रदेश सरकार फेरि ११ सदस्यीय भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एस) को संयुक्त सरकार रहेको छ ।
सरकारमा मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री माओवादीका छन् भने चार मन्त्री तीन राज्यमन्त्री नेकपा (एस) का छन् । एमाले विभाजन हुनु अघि एमाले र माओवादीको संयुक्त सरकार थियो ।




