काँग्रेस महाधिवेशन : कैलाली सहित १० जिल्लाको क्रियाशील सदस्यता टुंगियो

धनगढी / १४ औं महाधिवेशनमा रहेको नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरा लगायत देशका विभिन्न १० जिल्लामो क्रियाशिल सदस्यताको टुंगो लगाएको छ ।
गत १८ गतेदेखि देशभरी वडा अधिवेशनहरू शुरु भए पनि विवादका कारण ५६ जिल्लामा मात्रै हालसम्म वडा अधिवेशनहरू भएका छन्् । सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा गत २५ गते वडा अधिवेशन भए पनि विवादित रहेको छ ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, र डाक्टर मिनेन्द्र रिजाल तथा रमेश लेखक सहितको क्रियाशील छानबिन समितिले १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याइएको बताइएको छ ।
१० जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाएको भनिए पनि बुधबार राती ८ बजेसम्म कैलालीको क्रियाशील सदस्यताको सूचि भने पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको छैन ।
पूर्व महान्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धी निर्णय लिएको छानबिन समितिका सदस्य योगेन्द्र चौधरीले बताए ।
तर कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भने बुधबारसम्म क्रियाशील सदस्यता नामावली बुझेको भने छैन । छानबिन समितिले टुंगो लागेका जिल्लाहरूको क्रियाशील सदस्यता नामावली पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको बताइएको छ ।
क्रियाशिल सदस्यताको विवाद टुङ्ग्याएसंगै १० वटै जिल्लाको वडा अधिवेशन असोज ५ गते गर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि छलफल भइरहेको नेपाली कांग्रेस कैलालीका निर्वाचन अधिकृत टेकराज सुवेदिले बताए ।
विवाद समाधान भएपछि क्रियाशिल सदस्यको विवरण सार्वजनिक नभएको बताउँदै उनले क्रियाशिल विवाद प्राप्त नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढ्ने बताए ।




