१५ चैत्र २०८०, बिहीबार

छानविन समिति गठनमा सहमति नहुदा ताला खुलेन




चौमाला / गौरीगंगा नगरपालिकामा सोमबारदेखि लागेको तालाबन्दी चौथो दिन पनि जारी छ । छानविन समितिमा गठनमा सहमत नहुँदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानविन गरि सार्वजनिक गर्न समिति बनाउने विषयमा सहमति हुन नसक्दा तालाबन्दी लम्बिएको छ ।

बुधबार साँझ आन्दोलनरत दल र नगर प्रमुख भीमवहादुर देउवाबीच दलहरुले उठाएका मागहरु सम्बोधन गर्ने तथा दलहरु सहभागी छानविन समिति बनाउने सहमति भएको बिहीबार सम्झौतामा हस्ताक्षर गर्ने बेला कानुनी अड्चन आउने भन्दै निर्णय हेरफेर गरे मात्र हस्ताक्षर गर्ने देउवाले अडान राखेपछि सहमति नभएको नेपाली काङ्ग्रेसका नेता दिनेशराज जोशीले बताएका छन् ।

बुधबारको सहमति अनुसारको छानविन समिति गठनको निर्णयमा मेयर देउवाले सहमति हुन नमानेपछि दलहरुले आफ्नो दलबाट नगरकार्यपालिका वा नगरसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु मध्येबाट पाँच सदस्यीय छानविन समिति गठनको प्रस्ताव गरे पनि नगरप्रमुख देउवाले आफ्नो दलका प्रतिनिधि पनि छानबिन समितिमा राख्न पाउनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो ।

आन्दोलनरत पाँच दलीय गठबन्धनका दलहरु मध्ये चार दलको नगरकार्यपालिकामा प्रतिनिधित्व रहेको छ । एक सदस्य सचिव सहित आन्दोलनरत दलको प्रतिनिधित्व हुने गरेर नगरकार्यपालिका भित्रका सदस्य सहभागी छानविन समिति बनाउनदा एक जना प्रतिनिधि छानबिन समितिमा आफ्नोतर्फबाट राख्न पाउनुपर्ने नगरप्रमुख देउवाले बताए । मेरो राजनीति दलको पनि सहभागिता रहोस् भन्ने अडान छलफलका क्रममा देउवाले राखेका थिए ।

आन्दोलनमा सहभागी नभएको दलको सहभागितामा छानविन समिति गठनको औचित्य नहुने तर्क दलहरूले राखेपछि तालाबन्दी यथावत् रहेको हो ।

नगरप्रमुखले छानविन समितिको सदस्यमा एमालेका जनप्रतिनिधि पनि समेत सहभागी गर्न पाउनुपर्ने अडान नछाड्ने अड्डी लिएपछि सहमति हुन नसकेको राष्ट्रिय जनमोर्चाका उमेश कडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार