सिमान्तकृत समुदाय र जनप्रतिनिधिवीच अन्तरक्रिया
धुर्जन्ना / मुक्त कमैयासहित सिमान्तकृत समुदायको सामाजिक, आर्थिक अवस्थाबारे सोमबार धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना गाउँमा समुदाय र जनप्रतिनिधिहरुबीचअन्तरक्रिया भएको छ ।
अन्तक्र्रिया कार्यक्रममा धुर्जन्ना कमैया वस्तीका बासिन्दाको आर्थिक, सामाजिक परिवर्तनको अवस्थाका साथै जनप्रतिनिधिहरु र समुदायबीचको सम्बन्धबारे छलफल भएको थियो ।
सशक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल) ले इको कोपरेशनसंगको साझेदारीमा लागू गरेको जीविकोपार्जनको हक परियोजना अन्तर्गत भएगरेका गतिविधिबाट धुर्जन्ना वस्तीका मुक्त कमैयाहरुमा आएको आर्थिक सामाजिक परिवर्तन, स्थानीय तह (वडा) का जनप्रतिनिधिहरुसंगको सम्बन्ध, आफ्ना आवश्यकता र माग प्रस्तुत गर्ने क्षमतामा आएको सुधार लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुले परियोजनाको सहयोगमा वस्तीमा आर्थिक अवस्थामा सुधार आइरहेको बताए । सहभागीहरुका अनुसार तरकारी खेती, पशुपन्छीपालन, व्यवसाय तथा विभिन्न सीपमुलक कार्यमा सुधार आएको बताए ।
उनीहरुले वस्तीमा बालविवाह, घरेलु हिंसा, अशिक्षा, लगायतका समस्या अझैं पनि रहेको तथा नदी कटानका कारण वस्ती नै जोखिममा परेकोले समस्या सम्बोधनका लागि स्थानीय सरकारसंग आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष माधवराज रानाले वडाले विकास निर्माण तथा अन्य कार्यक्रम छनोटका लागि टोल तथा वडा भेलाहरुमार्फत समुदायका आवश्यकताहरुलाई प्राथमिकतामा राख्ने गरेको बताए ।
उनले महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीप विकास लगायतका पक्षमा एस नेपाल सहितका संघसंस्थाहरुले अझ बढी ध्यान दिन आग्रह गरे ।
वडाध्यक्ष रानाले समुदायले आफै सक्रिय भएर आफ्ना समस्या र आवश्यकताबारे पहल गर्नुपर्ने र स्थानीय तहबाट सामाजिक, सांस्कृतिक, आर्थिक विकासका लागि हरसम्भव प्रयास गरिने बताए । वडा सदस्य विशाल बोहराले क्रमिक रुपले मुक्त कमैयाहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार आइरहेको बताए ।
उनले भने– कुनै वेला बजारबाट खाद्यान्न खरिद गरेर गुजारा गर्ने परिवारहरुले अहिले आफ्नो उत्पादन बजारमा बिक्री गरिरहेका छन् । बाल विवाह लगायतका सामाजिक समस्याहरु पनि क्रमिक रुपमा कम हुदै गएका छन् ।
कार्यक्रममा एस नेपालका रचना विष्ट, विभिन्न समुहमा आवद्ध आशा चौधरी, शीला चौधरी, चादनी चौधरी, परदेशनी चौधरी, लौकीदेवी चौधरीले धारणा व्यक्त गरेका थिए ।
एस नेपालका कार्यक्रम अधिकृत नित्यानन्द जोशीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वारले गरेका थिए ।




