नेतृ देउवाद्वारा विकास योजनाबारे छलफल

धनगढी / नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशका विकास योजनाबारे छलफल गरेकी छिन ।
शनिबार धनगढीमा भएको एक छलफल कार्यक्रममा नेतृ देउवाले गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माण र पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन पहल गरिने बताइन् ।
उनले गेटा मेडिकल कलेज सञ्चालनबारे पनि छलफल भइरहेको बताइन् ।
नेतृ देउवाले महिला तथा बालबालिकाहरूका लागि विशेषज्ञ अस्पताल बनाउनेतर्फ पहल भइरहेको बताइन् । उनले आफूले ५० जना क्षमताको महिला छात्रावास निर्माण गर्ने घोषणा गरिन् ।
उनले धनगढी–दिपायल फाष्ट ट्रयाक निर्माणको गति तीब्र बनाउन पहल भइरहेको बताइन् । उनले गौरिफन्टा सिमानाका स्तरोन्नति र प्रशासनिक कठिनाई समाधान गर्न पनि पहल गरिने बताइन् ।




