१० श्रावण २०८१, बिहीबार

विपदमा परेका नागरिकको उद्दारका लागि सरकार गम्भीर– मन्त्री जोशी



धनगढी / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विपदमा परेका परिवारको उद्दार तथा राहत प्रदान गर्न सरकार गम्भीर रहेको बताएकी छिन् ।

‘प्रदेशका नागरिकको रक्षा गर्नु, सहज जीवनयापन गराउनु सरकारकोे प्राथमिकता हो’ शुक्रबार अनेरास्ववियू कैलालीले पहिरोका कारण दार्चुला क्षेत्रमा भएको क्षतिबारे ज्ञापनपत्र बुझाएपछि मन्त्री जोशीले भनिन्– दार्चुलाको पहिरोमा परेका व्यक्तिहरूलाई सुरक्षित राख्न प्रदेश सरकार लागिरहेको छ ।

अहिले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन भनेर सरकारले स्थानीय प्रशासनलाई निर्देशन समेत दिइसकेको छ ।
उनले पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक/एक लाख रकम उपलब्ध गराउने र घाइतेहरूको निःशूल्क उपचार गराउने पनि जानकारी दिइन् ।

उनले प्रदेश सरकारले दार्चुलामा खाद्यान्न लगायतका अन्य राहत उपलब्ध गराइरहेको बताइन ।

अनेरास्ववियू कैलाली अध्यक्ष किशोर शाह नेतृत्वको एक टोलीले मन्त्री जोशीलाई सो ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार