१२ श्रावण २०८१, शनिबार

प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदै



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन तयारी गरेको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको जनाइएको छ ।

बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भनिन्– प्रदेश सरकारले आफैं कोरोना विरुद्धको खोप खरिद गर्न मिल्दैन । हामीले संघीय सरकारलाई खोप उपलब्ध गराइदिन अनुरोध गर्ने हो ।

मन्त्री जोशीले प्रदेशमा सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि थप पाँच लाख डोज उपलब्ध गराइ दिन भनेर अनुरोध गर्ने निर्णय गरेको बताइन ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरी हालसम्म कोरोना विरुद्धको पहिलो मात्रा लगाउनेको संख्या छ लाख एक हजार पाँच सय १८ जना पुगेको छ । मन्त्री जोशीले पहिलो डोज लगाएकालाई दोस्रो मात्रासहित थप पाँच लाख डोज संघीय सरकारले उपलब्ध गराएमा १३ लाख बढी जनसंख्यालाई खोप लगाइने बताइन ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलाली जिल्लाका रहेका छन् । कैलालीमा एक लाख ९५ हजार ३६१ व्यक्तिले कोरोनको पहिलो डोज लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कञ्चनपुरमा एक लाख सात हजार एक सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार नौ सय ४८, बझाङमा ४६ हजार सात सय २४, डोटीमा ४५ हजार चार सय २३, दार्चुलामा ३८ हजार छ सय ५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार एक सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार