७ जेष्ठ २०८१, सोमबार

एक हजार सैयाको होल्डिङ सेन्टर निर्माण हुदै



धनगढी । धनगढीमा कोरोना भाइरस संक्रमणको रोकथामका लागि हजार शैयाको होल्डिङ सेन्टर निर्माण शुरु भएको छ ।

नेपाल सरकारको २८ करोड ८१ लाख रुपैया लागतमा सो होल्डिङ सेन्टर निर्माण हुनलागेको बताइएको छ छ ।

धनगढी उपमहानगरपालि वडा नम्बर ३ मा रहेको प्रगती सामुदायिक वनको डेढ विघा जमिनमा सो होल्डिङ सेन्टर निर्माण भइरहेको छ । कैलालीको तेघरीस्थित नेपाली सेनाको भवानीदल गणले होल्डिङ सेन्टरको निर्माणको जिम्मेवारी लिएको छ ।

नेपाली सेनाले गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसंग निर्माणको ठेक्का सम्झौता गरेको थियो । हनुमान कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर बिक्रमकुमार शाक्यले होल्डिङ सेन्टरको ५० प्रतिशत काम पूरा भइसकेको बताए ।

इन्जिनियर शाक्यका अनुसार होल्डिङ सेन्टरमा ५९ वटा ब्लकहरू निर्माण भइरहेका छन् । हरेक शैयामा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिनेछ । भारतबाट फर्किने नेपालीहरू सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच गरेपछि मात्र घर पठाउने योजना रहेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए ।

‘परीक्षण गराएर संक्रमितको आवश्यकताअनुसार कोभिड अस्पतालमा उपचार गर्ने र संक्रमण नदेखिएकाहरूलाई मात्र गाउँ जाने व्यवस्था मिलाउँछौं’ मन्त्री खड्काले भने ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर महामारीका रुपमा फैलिएपछि संघीय सरकारले देशभरीका मुख्य सीमा नाकाहरूमा होल्डिङ सेन्टर निर्माण गर्ने योजना ल्याएको थियो । पहिलो र दोस्रो लहरको कोरोनाको संक्रमण भारतबाट नै नेपालमा बढी फैलिएका कारण सिमानाकाको २ किलोमिटर आसपासमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार