१३ चैत्र २०७९, सोमबार

बझाङका यार्चा संकलकलाई स्वास्थ्य सेवा



बझाङ । कोरोना महामारीको बेवास्ता गर्दै हिमाली भेगमा यार्चा टिप्न गएका संकलकहरूले पहिलो पटक संकलन क्षेत्रमा स्वास्थ्य सेवा पाएका छन् । साइपाल गाउँपालिकाका स्वास्थ्यकर्मीले दुर्गम हिमाली क्षेत्रमा पुगेर संकलकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका हुन् ।

सामान्य बिरामीका कारण ज्यानैसमेत गुमाउनुपर्ने बाध्यतामा रहेका संकलकले पाटनमै स्वास्थ्य सुविधा पाउन थालेपछि खुसी व्यक्त गरेका छन् । ‘यहाँ बिरामी भयो भने साह्रै दुःख पाइन्थ्यो । सामान्य पेट दुखेर, ज्वरो आएर पनि मान्छे मर्थे,’ चार वर्षअघि जडीबुटी संकलनकै क्रममा एक्कासि पेट दुखेर आफ्नो काकाको मृत्यु भएको सम्झिँदै जयपृथ्वी नगरपालिका–१ का नरबहादुर सिंहले भने, ‘यो पाला स्वास्थ्यकर्मीहरू पाटनमै आएर बिरामीलाई जाँच्ने, औषधि दिने गर्नुभएको छ । केही भइहाले पनि औषधि पाइन्छ भनेर ढुक्क हुन्छ ।’

उनले हिमाली भेगमा स्वास्थ्य सुविधा उपलब्ध नभएको र स्वास्थ्यचौकी पुग्न पाटनबाट तीनरचार दिनसम्म हिँड्नुपर्ने भएकाले सामान्य बिरामीले पनि अतालिएर मर्ने गरेको सुनाए । ‘औषधि हुँदैन, स्वास्थ्यकर्मी हुँदैन । अलिकति ज्वरो आयो । पेट दुख्यो भने पनि के पो हुने हो भनेर डराएपछि बिरामले भन्दा डरले च्याप्छ । त्यही भएर मान्छे मर्ने हुन्’ उनले भने । पाटन क्षेत्रमा प्रायःजसो मानिसलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, आउँ तथा झाडापखालाजस्ता रोगहरू लाग्ने गरेको संकलकहरू बताउँछन् ।

यार्चा संकलनका क्रममा बिरामी भएर, हिउँमा चिप्लेर, भीरबाट लडेर घाइते भएकाहरू उपचार नपाएर बर्सेनि ज्यान गुमाउने गरेको संकलक बताउँछन् । ‘यहाँ केही हुँदैन होला भनेका बिरामी पनि बेलैमा औषधि नपाएका कारण मर्छन् । कोही बोकेर लैजाँदा–लैजाँदै बाटैमा मर्छन्,’ साइपाल गाउँपालिकाकी एक जना यार्चा संकलक सोनी बोहराले भनिन्, ‘यो पाला औषधि ल्याएर स्वास्थ्यकर्मी आएका छन् । थोरै भए पनि ढुक्क भएको छ ।’ यार्चा संकलनको समयमा पाटनमा स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिनुपर्ने उनले बताइन् ।

कोरोना महामारीको प्रवाह नगरी हजारौंको संख्यामा संकलकहरू पाटन क्षेत्रमा पुगेका र यो बेला बढी जोखिम देखिएकाले पाटनमै स्वास्थ्य सेवा दिइएको साइपाल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लोकेन्द्र जेठाराले बताए । ‘यो वर्ष कोरोनाको जोखिम पनि बढी भएकाले कसैलाई केही भइहाल्छ कि भनेर हामीले पाटन क्षेत्रमै सेवा दिन थालेका हौं,’ उनले भने, ‘औषधि उपचारकै अभावमा सामान्य रोग लागेर कसैले दुःख नपाओस्, मर्न नपरोस् भनेर सेवा दिने निर्णय गाउँपालिकाले गरेको हो ।’ जेठाराले पाटन क्षेत्रमा भीडभाड हुने भएकाले स्वास्थ्यकर्मीको टोलीले कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा संकलकलाई सचेतना फैलाउने काम पनि गरिरहेको बताए ।

साइपाल गाउँपालिकामा रहेका राइढुंगी औलागाड, माझा, फरालखेत, कालापानी, स्याङवन, पेठार्‍यालगायतका क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीहरू पठाइएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । प्रत्येक वर्ष १० हजारभन्दा बढी संकलक पुग्ने गरेको बताउँदै धामीले भने, ‘टाढा–टाढाबाट मान्छे पाटन आएका हुन्छन् । कोही एक्लै दुक्लै हुनेहरू बिरामी पर्दा बोक्ने मान्छे नपाएर पनि मर्ने गरेका छन् । त्यस्तो समस्या भोग्न नपरोस् भनेर हामीले पाटनमै स्वास्थ्य सेवा दिन सुरु गरेका हौं’ उनले यो सेवा आगामी वर्ष पनि निरन्तर रहने बताए ।

बझाङका चार वटा पालिकाको हिमाली भेगमा यार्चा संकलन हुने भए पनि संकलन क्षेत्रमा नै स्वास्थ्यकर्मी खटाएर सेवा दिने साइपाल गाउँपालिका पहिलो हो । यार्चा संकलन क्षेत्रमा जानेहरूबाट प्रवेश शुल्क लिने गरेका स्थानीय तहले पाटन पुगेका संकलकलाई आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने माग केही वर्षदेखि उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्