२३ बैशाख २०८१, आईतवार

कोरोना संक्रमितको सेवाका लागि हेल्पडेस्क स्थापना



धनगढी ।‘अहिले हरेक दिन कोरोना संक्रमितहरूले एम्बुलेन्स पाउन नसकेको, सहज रुपमा औषधि नपाएको, अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाउनु परिरहेको छ’ सामाजिक कार्यमा जुटेको रोयल कोल्यावरेटिभ्स नामक समुहका संयोजक गजेन्द्र शाहीलाई हरेक दिन यी र यस्तै खबरहरू सुन्दा र पढ्दा निकै चिन्ता बढ्न थाल्यो ।

उनलाई महामारीमा सर्वसाधारणका लागि केही सहयोग गर्ने इच्छा जाग्यो । उनले धनगढीमा रहेका विद्युतीय रिक्सा, एम्बुलेन्स र अन्य सवारी साधनका मालिकलाई सम्पर्क गरे । धनगढीमा कोभिड–१९ हेल्पडेस्क स्थापना गर्ने सोच बनाए । उनी धनगढीको चौराहदेखि पार्कमोडसम्म अटोरिक्सा, एम्बुलेन्स र अन्य सवारी साधन पार्किङ गर्ने स्थानको खोजिमा लागे । उनको प्रयास सफल भयो– धनगढी उपमहानगरपालिका कार्यालय अगाडीको खाली स्थान ।

धनगढी उपमहानगरपालिकाको सहकार्यमा गत शुक्रबार रोयल कोल्यावरेटिभ्सले हेल्पडेस्क संचालनमा ल्यायो । हेल्पडेस्क कोरोना संक्रमितका लागि आकस्मिक एम्बुलेन्स सेवा, रगतको व्यवस्था, घरमै औषधी पुर्याउने, क्लिनिक सेवा र मनोपरामर्श लगायतका सेवा प्रदान गर्ने घोषणा गरियो ।

सो समुहले छ वटा विद्युतीय रिक्सालाई धनगढी उपमहानगरपालिकाभित्रका कोरोना संक्रमितहरूलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म पुर्याउन आकस्मिक एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका बाहिरका कोरोना संक्रमितका लागि दुई वटा अक्सिजन सिलिन्डरसहितको एम्बुलेन्सको व्यवस्था गरिएको छ । समुहका संयोजक शाहीले भने– छ वटै विद्युतीय रिक्सामा पनि अक्सिजन सिलिन्डर राख्ने सोच बनाएका छौ, तर सिलिण्डर पाइरहेको छैनौ ।

उनले हेल्पडेस्कमा पनि केही अक्सिजन सिलिण्डर मौज्दात राख्ने सोचको बताए ।

शुक्रबारदेखि सुरु भएको हेल्पडेस्कबाट आइतबारसम्म ५५ जनाले सेवा लिइसकेको समुहले जनाएको छ । समुहका देवेन्द्र जोशीका अनुसार हेल्पडेस्कले स्वास्थ्य सामग्री, स्यानेटाइजर, मास्क, ग्लोभ्स, औषधी लागयतका सेवा उपलब्ध गराएको जानकारी दिए । उनले भने–फोनबाट पनि संक्रमितहरूले मनोसामाजिक परामर्श लिइरहेका छन ।

उनले एउटा विद्युतीय रिक्साले दैनिक १० देखि १५ जना कोरोना संक्रमितलाई सेवा दिइरहेको बताए ।

समुहले सेवाग्राहीले सेवाका लागि सम्पर्क गर्न केही व्यक्तिलाई जिम्मेवारी दिनुका साथै फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिकाभित्रका संक्रमितले फोन नम्बर ९८०४६५५२९० कमल प्रताप चौधरी र ९८१०२०१५६५ मनोज चौधरीलाई सम्पर्क गर्न सक्ने तथा बाहिरका संक्रमितहरूले फोन नम्बर ९८१२६५४०९९ मा रिक्त मगर, ९८१४६४१०८२ बाबुराम पौडेल, ९८२३५२६२८४ बालकृष्ण चौधरी र फोन नम्बर ९८१८४७८३३० मा सुरेन्द्र सिंहलाई सम्पर्क गर्न समुहले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार