६ चैत्र २०८०, मंगलवार

थप तीन सय ८५ मा संक्रमण, ५८ जना निको र २७ जना डिस्चार्ज



धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप तीन सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन र पिसिआर परिक्षणबाट प्रदेशमा थप तीन सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जनाइएको छ ।

बुधबार प्रदेशभरी छ सय ५९ जनामा पिसिआर परिक्षण गर्दा दुई सय ५२ र पाँच सय ९२ जनाको एन्टिजेन परिक्षण गर्दा एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा भएको एक सय ८८ जनाको पिसिआर परिक्षणमा एक सय २१, डडेल्धुरा अस्पतालमा ९४ जनामध्ये ३०, डोटी अस्पतालमा ६८ स्वाव परिक्षण गरिएकोमा १५, बैतडी अस्पतालमा ९४ स्वाव परिक्षण गर्दा ३९, बझाङ अस्पतालमा एक सय २२ स्वाव परिक्षण गर्दा २२ र कमलबजार अस्पतालमा ९३ स्वाव परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै एन्टिजेन परिक्षणमा अछाममा १८, बैतडी छ, बझाङमा ३०, बाजुरामा ११, दार्चुला, डोटीमा १५/१५, कैलालीमा २२ र कञ्चनपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार नाकाबाट पाँच सय ७१ भित्रिएकोमा तीन सय १८ जनामा एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

निर्देशनालयले दिएको तथ्यांक अनुसार बुधबार एन्टिजेनबाट संक्रमण पुष्टि भएका नौ र पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएका दुई जना गरि ११ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ भने विभिन्न अस्पतालमा उपचाररत थप ५८ जना संक्रमणबाट निको भएको जनाइएको छ ।

यस्तै बुधबार थप २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन । योसंगै प्रदेशमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या दुई हजार चार सय २७ पुगेको छ भने प्रदेशमा दुई हजार आठ सय ४७ सक्रिय संक्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार