५ जेष्ठ २०८१, शनिबार

रुडुकद्धारा क्वारेन्टिनमा फिल्टर सहयोग



धनगढी । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ मा स्थापना गरिएका क्वारेन्टिनका लागि फिल्टर उपलब्ध गराएको छ ।

रुडुक कैलालीका अध्यक्ष ममता शाह, सचिव सुनीता राना र कोषाध्यक्ष प्रमिला लम्सालले सोमबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई फिल्टर र स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरे ।

रुडुकका संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाको पहलमा यस अघि पनि धनगढी उपमहानगरपािलका लगायतका स्थानमा बनाइएका क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

रुडुकका कैलालीका अध्यक्ष शाहले सुत्केरी, अति बिपन्न र लकडाउनका कारण छाकटार्न समस्या भएकाहरूका लागि पोषिलो खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताइन् ।

नेतृ देउवाद्वारा बलात्कार घटनाको भत्र्सना

नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले कैलालीको लम्कीस्थित क्वारेन्टाईनमा भएको सामूहिक बलात्कार घटनाको घोर निन्दा एवं भत्र्सना गरेकी छिन् । उनले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेकी छिन ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलालाई शनिबार राती तीन जनाले सामूहिक बलात्कार गरेको घटनाले आफू स्तब्ध बनेको उनले बताएकी छिन् ।

नेतृ देउवाले कोभिड–१९ को विषम परिस्थितिमा महिला दिदिबहिनीहरूको सामाजिक सुरक्षा र संवेदनशिलतालाई दृष्टिगत गर्दै छुट्टै क्वारेन्टिन र आइसोलेसनको व्यवस्था मिलाउन, गर्भवती र सुत्केरी महिलाहरूको लागि पनि बेग्लै क्वारेन्टिनको ब्यबस्थापन गर्न सरकारसंग माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार