१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा कोरोना परीक्षण कार्य निकै सुस्त



डिपफ्रिजमा थन्किए डेढ हजार बढी स्वाब

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमुना परीक्षण कार्य निकै सुस्त भएको छ । प्रदेशमा केही दिनदेखि थ्रोट स्वाब परीक्षण कार्य बन्द गरिएको छ । प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण नै हुन सकेको छैन् ।

नमुना परीक्षण कार्य बन्द हुदा अहिले धनगढी प्रयोगशालामा डेढ हजार बढी स्वाब फ्रिजमा थन्किएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आइतबारसम्म संकलित एक हजार छ सय ४२ थ्रोट स्वाब नमुना परीक्षण गर्न बाँकी रहेकोे छ ।

स्वास्थ्य निर्देशनालयले यसअघि संकलन गरिएका स्वाब नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप स्वाब संकलन कार्य स्थगित गरेको छ । धनगढी प्रयोगशालाबाट दैनिक बढिमा दुई सय ५० वटा नमुना मात्र परीक्षण सम्भव भएकाले संकलित नमुनाहरू डिपफ्रिजमा थन्क्याउनुपर्ने बाध्यता रहेको छ ।

थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टाभित्र परीक्षण गर्न सकेमात्र प्रयोगशालाले विश्वसनीय रिपोर्ट दिने भए पनि सुदूरपश्चिममा भने एउटा मात्र प्रयोगशाला हुदा लामो समय थन्क्याउनु परेको बताइएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले चैत १५ मा धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरण नै खरिद नै गरेको छैन ।

धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघीय सरकारले पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार