१ जेष्ठ २०८१, मंगलवार

सुकुम्वासी परिवारलाई खाद्यान्न वितरण



धनगढी । खाद्य सुरक्षाको क्षेत्रमा काम गर्दै आएको याक नेपालले कोरोना भाइरसका कारण भोकमरीमा परेका सुकुम्बासीहरुलाई खाद्यान्न वितरण गरेको छ ।
याक नेपालले कञ्चनपुराको शुक्लाफाटा नगरपालिका वडा नंं ११ बनरा नदीको किनारमा रहेको सिगास टोलका १७ सुकुम्वासी परिवारलाई खाद्यान्न सहयोग गरेको हो । याक नेपालका परियोजना संयोजक देवीप्रसाद खनालले प्रति परिवारलाई ३० किलो चामल, २ किलो नुन, १ लिटर तेल र १ किलो दाल वितरण गरेको बताए । उनले सोही वडाका अध्यक्ष र सदस्यहरुको समन्वय र उपस्थितिमा शुक्रबार खाद्यान्न वितरण गरिएको बताए ।
सो नदी किनारमा वर्षौदेखि बसोवास गरिरहेका ति सुकुम्बासी परिवारले ज्यालामजदुरी गरी छाक टार्दै आएकोमा कोरोनाका कारण लकडाउन भएपछि भोकमरीमा परेका थिए । ज्यालामजदुरी गर्न नपाएको दिन भोकै बस्नु पर्ने समुदायका वासिन्दाको बाध्यता रहेको सो समुदायका अगुवा दलबहादुर बोहराले बताए ।
खाद्यान्न वितरणमा शुक्लाफाटा नगरपालिका वडा नं. ११ वडाअध्यक्ष दिलबहादुर बुढा, तथा वडा सदस्यहरु जयबहादुर विष्ट, फुलमति राना र विस्नादेबी लुहारको उपस्थति थियो ।
देशमा कोरोना भाइरस फैलिन नदिनका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लक डाउन गरेको छ । हालसम्म नेपालमा ६ जना कोरोना संक्रमण देखिएको छ भने एक जना उपचार गरी निको भइसकेका छन् । बाँकीको उपचार जारी छ । विदेशबाट आउनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि विदेशबाट आउने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार