२२ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको परीक्षण सातै प्रदेशमा गर्ने तयारी



काठमाडौं- कोरोना भाइरसको परीक्षण अब सात वटै प्रदेशमा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा प्रयोगशाला स्थापनाका लागि तयारी अघि बढाएको छ। 
कोरोनाको संक्रमणको जोखिम दिनप्रति दिन बढेको भन्दै संक्रमणको पहिचानका लागि मन्त्रालयले परीक्षणको दायरा बढाउन लागेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुने कोरोनाको परीक्षण शनिबारबाट धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सुरु भइसकेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले प्रत्येक प्रदेशमा प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरण, रिएजेन्टलगायत अन्य सामग्री उपलब्ध गराइसकिएको जानकारी दिए। 

उनले भने,‘प्रदेश एकमा धरानमा शनिबारबाट परीक्षण सुरु भएको छ भने प्रदेश २ को जनकपुरमा परीक्षण सुरु गर्नका लागि विज्ञ तथा कर्मचारी खटाइएको छ।’ 

यस्तै, बागमती प्रदेशमा हेटौडा, गण्डकी प्रदेशमा पोखरा, प्रदेश ५ मा बुटवल, कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशमा धनगढीमा कोरोना भाइरस संक्रमण परीक्षणको तयारी सुरु भएको मन्त्रालयले जनाएको छ। 

महानिर्देशक श्रेष्ठले भने, ‘प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण लगायत सबै सामग्री प्राप्त भइसकेको छ। चाँडै नै प्रयोगशाला सुरु गर्ने गरी काम र अध्ययन भइरहेको छ।’
प्रयोगशाला दुई भित्र सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए। प्रयोगशाला तत्काल सुरु गरेर बढीभन्दा बढी परीक्षण गरिने उनको भनाई छ।

हालसम्म ९ सय १७ जनाको कोरोना परीक्षण 

नेपालमा हालसम्म कोरोनाको आशंकामा ९ सय १७ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमित चार जना सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

हाल शुक्रराज विभिन्न तीन वटा अस्पतालमा गरी १२ जना बिरामी आईसोलेसन वार्डमा भर्ना भएको उनले बताए।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा १ गरी १२ जना आइसोलेसन वार्डमा भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार