१९ बैशाख २०८१, बुधबार

क्वारेन्टाइन बस्नेलाई सरकारले नै खाजा खाना खुवाउने



काठमाडौं– सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै अहिले देशभर लकडाउन गरेको छ। देश लडडाउन भएसँगै सरकारले कोराना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन  गर्न बनेको मापदन्ड २०७६ स्वीकृत गरेको छ।

केही दिनअगाडि मात्रै कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिले क्वारेन्टाइन व्यवस्थापनका लागि आश्यक मापदण्ड तथा क्वारेन्टाइनको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले तयार पारेका मापदण्ड २०७६ स्वीकृत भएको छ।

सरकारले प्रदेशमा २ हजार, महानगरमा २ हजार, उपमहानगरमा २ हजार र स्थानीय तहमा ५ सय देखि २ हजारसम्मको क्वारेन्टाइन निर्माण गर्ने लक्ष्य लिएको छ। सोही अनुसार सरकारले क्वारेन्टाइन मापदण्ड तय गरेको हो।

मापदण्डमा क्वारेन्टाइनको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मीको व्यवस्थापन, फोहोर व्यवस्थापन, बासस्थान तथा बन्दोबस्तीको व्यवस्थापन, सुरक्षाको व्यवस्थापन, जनशक्तिको व्यवस्थापन, सरसफाई तथा फोहोर मैला व्यवस्थापन र आर्थिक व्यवस्थापन विषय उल्लेख गरिएको छ।

आर्थिक व्यवस्थापन भने कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट गरिने मापदण्डमा उल्लेख छ।

यसैगरी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई प्रतिदिन प्रतिव्यक्ति क्वारेन्टाइन रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित रासन दररेट बमोजिमको खाना खाजा खर्च उपलब्ध गराइने समेत मापदण्डमा उल्लेख छ। यसैगरी क्वारेन्टाइनामा रहेका व्यक्तिहरुलाई उपलब्ध गराइने खाना खाजा सुरक्षा निकायबाट व्यवस्थापन हुनछ।

यसैगरी मापदण्डमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि ३ सल्लाकार समूह, ४ सदस्य रहेको अनुगमन तथा सुपरीवेक्षण समिति, ७ सदस्य रहेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समिति र ११ सदस्य रहेको कार्यसञ्चालन समूह रहने व्यवस्था गरिएको छ।

यसैगरी, क्वारेन्टाइनमा रहेका व्यक्तिले पालन गर्नुपर्ने १५ वटा आचारसंहिता, गर्नुपर्ने काम अन्तर्गत स्वास्थ्य सम्बन्धी ७ वटा, सुरक्षा सम्बन्धी ५ वटा र गर्न नहुने कार्यअन्तर्गत ४ वटा बुँदा समावेश गरिएको छ।

मापदण्डमा क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले आचरण सम्बन्धी पालन गर्नुपर्ने नियमहरु पनि राखिएको छ।

मापदण्डमा बिहानको चिया खाजा साढे ७ बजेदेखि ८ बजेसम्म, दिवा खाना साढे ११ बजेदेखि १२ बजेसम्म, दिउँसोको खाजा साढे २ बजेदेखि ३ बजेसम्म र रातिको खाना साढे ७ बजेदेखि ८ बजेसम्म खाने समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार