८ पुष २०८१, सोमबार

सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड योगदान



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।
‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने ।
‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।
यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ÷स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।
यस चुनौतीपूर्ण घडीमा सेवाग्राहीहरूले देखाउनुभएको धैर्यको हामी कदर गर्छौं । उहाँहरूलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न हामी प्रयत्नरत छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार