१० श्रावण २०८१, बिहीबार

आलोचनापछि धनगढीले फेर्‍यो विद्यालय बन्द गर्ने निर्णय



धनगढी । धनगढी उपमहानगरपालिकाले कोरोनाको त्रासमा विद्यालय बन्द गर्ने निर्णय बदलेको छ ।
उपमहानगरपालिकाले शुक्रबार मात्रै गरेको विद्यालय बन्द गर्ने निर्णयको व्यापक आलोचना भएपछि पुनः विद्यालय खुलाउने निर्णय गरेको हो । आइतबारदेखि उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाले एक दिनमै अर्को निर्णय गरेर कक्षा नौंसम्मको परीक्षा फागुन २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना भारतको दिल्लीमै पुगेको भन्दै विद्यालय बन्द गर्ने निर्णय उपमहानगरपालिकाले गरेपछि हतारको निर्णय भन्दै आलोचना भएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सुचना जारी गरेर कक्षा १ देखि ९ सम्मको परीक्ष फागुन २८ देखि चैत ५ सम्म सञ्चालन गर्न नगरपालिका भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ ।
संघीय सरकारले यसअघि नै कक्षा १ देखि ९ सम्मको परीक्ष फागुन २८ देखि चैत ५ सम्म सञ्चालन गर्न निर्देशन दिएको भएपनि उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाको सो निर्णयको सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा कडा आलोचना भएको थियो ।
उपमहानगरपालिकाले शनिबार विद्यालय खुलाउने निर्णय गरेपछि हतारमा निर्णय गरेको भन्दै उपमहानगरपालिकाको पुनः आलोचना भएको छ । गत बुधबार उपमहानगरपालिकाले हल्दी, बेझो र लसुन खाएमा कोरोनाबाट बच्न सकिने विज्ञप्ति जारी गरेपछि पनि आलोचित भएको थियो । हल्दी, बेझो र लसुन खाएमा रोगबाट लड्ने क्षमता विकास भएपनि कोरोनाबाट बच्न सकिने कुरा कहीबाट पनि पुष्टी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार