योजनावद्ध विकासका लागि प्रोजेक्ट बैंक
धनगढी । धनगढी उपमहानगरपालिकाले योजनावद्ध विकासका लागि प्रोजेक्ट बैंक स्थापनाको तयारी गरेको छ ।
आइतबार धनगढीमा आयोजना गरिएको विकास सम्मेलनमा धनगढी उपमहानगरपालिकाले प्राथमिकीकरणका चार क्षेत्रका छ वटा विषयमा बृहत छलफल गरी प्रोजेक्ट बैंककाे तयारी गरेको छ ।
सम्मेलनमा सामाजिक, आर्थिक, पुर्वाधार विकास र वातावरणको संरक्षणका क्षेत्रमा मुख्य प्रोजेक्ट बैंकहरू प्रस्तुत गरिएका थिए ।
प्यानल छलफल र सहभागिहरूको सुझाव लिएर कार्यपत्रहरूलाई पूर्णता दिइएको थियो । सम्मेलनबाट आएका सुझाव र कार्यपत्रलाई आधार बनाएर बिश्लेषण सहितको प्रतिवेदन तयार गर्ने र सोही विषयलाई समेटेर प्रोजेक्ट बैंक तयार गर्न सम्मेलनले सुझाव दिएको छ ।
सम्मेलनमा भूषण बिष्टले सूचनाप्रविधीका माध्यमबाट नागरिकलाई दिने सोवालाई कसरी सुदृढीकरणगर्न सकिन्छ भन्ने बिषयमाकार्यक्रम प्रस्तुत गरेका थिए । बिनोद उपाध्यायले धनगढीको शुसासनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमाकार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी नारायण खनालले धनगढीलाई दिगो र बस्न योग्य कसरी बनाउन सकिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । डाक्टर ढुण्डीराज पाठकले फोहर ब्यबस्थापन सम्वन्धी, डाक्टर राजेन्द्रबिर चन्दले र डाक्टर नारायणप्रसाद पासकोटाले स्थानीयतहको आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
धनगढी विकास सम्मेलन धनगढीको विकासका लागि कोषेढुंगा हुने राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले बताए । ‘स्थानीयतहले गरेको यो पहिलो प्रयास हो,’ उनले भने, ‘यसले धनगढी उपमहानगरपालिकालाई मार्ग दर्शन गर्ने छ ।’
उनले राष्ट्रको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने बताए । ‘हामी अहिले स्रोतको पहिचान बिनै विकासको योजनाहरु कार्यान्वयन गरिरहेका छौं,’ उनले भने, ‘यसले राम्रो परिणाम दिएको छैन् । कार्यान्वयन योग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न हु“दैन ।’
सदस्य शुशिलले राष्ट्र विकासका लागि सबैमा छटपटी र हुटहुटी हुन आवश्यक रहेको बताए । उनले आयोजना चक्र व्यवस्थापनको शिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जनाए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सम्मेलनले दिएको म्यान्डेटका आधारमा प्रोजेक्ट बैंक बनाउने बताए । “यसलाई कार्यपालिकामार्फत नगरसभामा लगिने छ’ नगरप्रमुख वडले भने– आवश्यक परेमाकानुन समेत बनाएर अगाडी बढीने छ । यसैलाई टेकेर नगरले छोटो तथा लामो समयका योजना बनाउने छ ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रभट्टले धनगढीका लागि विकास सम्मेलन पहिलो अभ्यास भएको बताइन् । उनले भनिन्, यस सम्मेलनले हामीलाई दिशानिर्देश गरेको छ त्यसैका आधारमा अगाडी बढ्ने छौं ।
सुदूरपश्चिम विश्व विद्यालयका पूर्व राजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले गरेको विकास सम्मेलन ऐतिहासिक भएको बताए । उनले भने, यसले धनगढी उप–महानगरपालिकालाई कसरी अगाडी बढ्ने भनेर निर्देशित गरेको छ । कार्यक्रममा सामाजिक, आर्थिक, वातावरण, उद्योग, पर्यटनका साथै राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधीहरूको उपस्थिति थियो ।