१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिममा जडीबुटी कम्पनी स्थापना गर्ने सहमति



काठमाडौ । अन्तर्रा्ष्ट्रिय बजारमा बहुमूल्य मानिएका जडीबुटीको खेती विस्तार, सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्नका लागि सङ्घीय सरकार र सुदूरपश्चिम सरकारको सहकार्यमा जडीबुटी प्रशोधन कम्पनी सञ्चालन हुने भएको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच बुधबार त्यस्तो सहमति भएको छ । सहमति पत्रमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्की र प्रदेश सचिव डा.दीपककुमार खरालले हस्ताक्षर गरेका छन ।
जडीबुटीको खेती विस्तार, प्रशोधन तथा बजारीकरणका लागि प्राविधिक सहयोग गर्न सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो कम्पनीले प्रदेश मन्त्रालयलाई गर्ने भएको सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालका बहुमूल्य जडीबुटीलाई ‘अर्गा्निक ब्रान्ड्रिङ’ गरेर निर्यात गर्न सकिने बताए । उनले उपलब्ध प्राकृतिक स्रोतलाई कृषिसँग जोडेर आर्थिक क्रान्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, हिमाली क्षेत्रहरू जडीबुटीका खानी भएको धारणा राख्दै उनले अन्तर्रा्ष्ट्रिय बजारमा महँगा मानिएका जडीबुटीको खेती विस्तार गरी वैदेशिक मुद्रा आर्जनको प्रमुख आधार बनाउन सकिने विचार व्यक्त गरे ।
सो कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको दिगो सदुपयोग नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने भएकाले बहुमूल्य वनस्पतिको संरक्षण, खेती विस्तार तथा सदुपयोग गर्न सङ्घीय सरकारले पहिलोपटक सुदूरपश्चिम प्रदेशसँग सहकार्य गरेको कुरा बताए । आगामी चैत मसान्तमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा उद्योग स्थापना हुने गरी कम्पनी दर्ता प्रक्रिया सम्पन्न गरिसक्ने जानकारी सो अवसरमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले दिए ।
उनले भने, वित्तीय सङ्घीयताको मोडल सुुदूरपश्चिम प्रदेशले सुरुवात गर्दै समुदायमा आधारित जीविकोपार्जनको अभियानलाई सुदूरपश्चिम प्रदेशले अङ्गीकार गरिरहेको छ । स्थानीय समुदायको सहयोग र समन्वयबिना समृद्ध नेपाल बनाउन सक्दैन भन्ने सन्देश दिन खोजेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले निजी क्षेत्रलाई जडीबुटी खेतीप्रतिको आकर्षण बढाउन दुई तहका सरकारले संयुक्त रूपमा हात बढाएकाले आगामी दिनमा जडीबुटीको खेती विस्तार, सङ्कलन तथा बजारीकरण गर्न सहज हुने धारणा राखे ।
हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री माया भट्टको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार