१० श्रावण २०८१, बिहीबार

सेताम्मे डाडा र हिउबाट मन्त्रमुग्ध पर्यटक



डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा यतिवेला हिमापत, बाक्लो हिउ र हिउमा रमाइरहेका मानिसको बाक्लो भीड लागेको छ ।

पछिल्लो पटक एक सातादेखि सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका डाडाकाडा हिउले सेताम्मे छन् । पहाडी तथा हिमाली जिल्लाका प्रायः सडकमा बाक्लो हिउ जमेको छ । वस्ती, बनजंगल खेतबारी जताततै हिउले ढाकेको छ । सफा मौसममा सूर्यका किरणले टल्किएका हिमाल, डाडाकाडा, खेतबारी औधीं आकर्षक रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई यतिवेला सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाले मन्त्रम्ग्ध पारिरहेको छ ।
तेस्रो पटकको हिमपातपछि डोटीको झिंग्राना, खप्तड, र नजिकका डाडाकाडा, भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा दैनिक सयौंका संख्यामा भारतीय तथा नेपाली पर्यटक हिउ हेर्न तथा खेल्नका लागि आउने गरेका छन् ।
हिमपातसंगै डोटी सहित अन्य हिमाली तथा पहाडी जिल्लाका डाडाकँडाहरु सेताम्मे तथा सुन्दर देखिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा निकै बृद्धि भएको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए ।
त्यस्तै, सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गर्नका लागि पनि भारतीय तथा स्वदेशी पर्यटक आउन थालेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० का लागि डोटी जिल्लाका विभिन्न पर्यटकीय स्थललाई गन्तव्य सूचीमा राखिएको छ ।
डोटीमा खप्तड, शैलेश्वरी मन्दिर, दिपायलको डोटेली राजाको दरबार, बडिकेदार रहेको बडिकेदार मन्दिर, जोरायल गाउपालिका वडा नम्बर ५ मा रहेको निरौली दरबार तथा छतिवनमा रहेको छतिवन ताललाई भ्रमण वर्ष २०२० को गन्तव्य सूचीमा राखिएको जिल्ला समन्वय समिति डोटीले जनाएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिए । भ्रमण वर्ष २०२० भित्र करिब चार लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए ।
पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत स्थलहरुमा अहिले दैनिक सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवा सुविधाहरुको व्यवस्थासमेत मिलाउन थालिएको जिल्ला समन्वय समितिका संयोजक ऐरको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन डोटीका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा चिनाउने गरी प्रचारप्रसारलाई तीव्रता दिइएको सुदूरपश्चिम गाउपालिका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
भ्रमण वर्षमा दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानदेखि दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा (¥याफ्टिङ) को आयोजना गर्ने भएको छ । भ्रमण वर्षमा आएका पाहुनाहरुलाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको शुरुआत गरेको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास तथा व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटेल व्यवसायीसंग डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार