२२ बैशाख २०८१, शनिबार

सञ्चारमन्त्रीको टिप्पणी– पत्रकारले गाली गर्न मज्जा मान्छन्



धनगढी/संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारिता नकारात्मक दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।
‘अहिले पत्रकारिता विचित्र लाग्छ । पत्रकारहरूमा अध्ययन नै छैन । गाली गर्न पाए मज्जा मान्छन् । पुनःपुष्टी गर्दैनन् । चर्चाका लागि समाचार प्रकाशन भइहाल्छ’ प्रेस क्लव कैलालीले सोमबार धनगढीमा आयोजना गरेको गोष्ठीमा सूचना तथा सञ्चार मन्त्री बाँस्कोटाले भने–पछिल्ला दिनहरूमा सञ्चार माध्यमहरूमा सरकारका कामप्रति बढी नकारात्मक समाचार प्रवाह भइरहेको छ ।
‘कसैले आफनो स्वार्थमा सूचना दिन्छ त्यही आधारमा उनीहरू समाचार प्रकाशन गरिहाल्छन् । यसले गर्दा जनतामा अराजकता, नैरास्यता बढीरहेको छ’ उनले भने ।
मन्त्री बाँस्कोटाले मिडियाले अधिकारको गलत प्रयोग गरिरहेको आरोप लगाए । भने– संविधानमा भएका अधिकारहरू तपाई प्रयोग गर्नुहोस् यदि त्यो भन्दा बाहिर गएर काम हुन्छ भने कानुन बमोजिम कारबाही हुन्छ । किनकी कानुन सबैका लागि बराबर हो ।
उनले सरकारले सञ्चार माध्यममैत्री ऐन कानुन निर्माण गरिरहेको दाबी गरे । उनले भने–सञ्चार क्षेत्रको विकास होस् भनेर अब सडकमा रंगिन गर्न नपाइने भनेर काठमाडौमा भएका होर्डिङ बोर्डहरू हटाइएको छ । यदि होर्डिङ बोर्ड रहेन भने ती व्यापारीले विज्ञापन दिने भनेको तपाईहरूलाई (सञ्चार माध्यम) नै त हो । यसले तपाइको आम्दानीमा सहयोग पुगेन र ?’
उनले सञ्चार माध्यम विना पनि देश विकास भएको उदाहरण पेस गरे । भने– चिनमा ग्रेटवाल बनाउदा वा अमेरिकाको आईफिल टावर निर्माण हुँदा सञ्चारमाध्यम थिए की थिएनन् । त्यसैले सरकारसंगको सकारात्मक बाटोमा सञ्चार माध्यमले साथ दिए पनि नदिए पनि हामी अघि बढ्छौं ।
एकअर्को प्रसंगमा मन्त्री बाँस्कोटाले संघीय संसदमा नेकपाकै सभामुख बन्ने बताए । ‘सभामुख नेकपाकै बन्छ । चयन गर्दा न तत्कालिन नेकपा माओवादी वा नेकपा एमाले भन्छौं, न त पूर्व वा पश्चिम नै’ उनले भने– पुरानै भागवण्डाका आधारमा सभामुख चयन गरे पार्टी एकिकरण गरेको अर्थ पनि रहदैन ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सुदूरपश्चिम प्रदेश आफनै कारणले विकासमा पछि परेको दाबी गरे । ‘महाकाली अन्तर्राष्ट्रिय साझा नदी, खप्तड, अपि सैपाल, वन लगायत प्राकृतिक सम्पदा यहाँ छन्’ उनले भने– कस्तुरीले आफ्नो विना खोजी गरे जस्तो यो प्रदेश छ । स्रोत साधन यहाँ छन्, तर भएन भनेर खोज्न संघमा गइरहेका हुन्छन् ।
उनले प्रदेशमा सडक सञ्जाल, जलमार्ग, पदमार्ग, नदीजन्य सामाग्रीको सदुपयोग, भएका पर्यटकिय स्थलको विकास तथा प्रवद्र्धन गर्न सक्नुपर्ने बताए । उनले प्रदेशमा निर्यात उद्योग सञ्चालन गर्न सकिने चर्चा गरे । ‘दाल, चामल, तेल, घिउ लगायतका यही उत्पादन गर्न सकिने सामग्री अन्य मुलुकबाट खरिद गरेर आयात गर्न सुखी नेपाली, समृद्धि नेपालको प्रधानमन्त्रीले परिकल्पनागरेका होइनन् ।’
उनले प्रदेश गरिवी, कुरिति तथा विकृतिले अन्र्तराष्ट्रिय रुपमै बदनाम भइरहेको बताए । भने–‘यो प्रदेशको अछाम जिल्लाको छाउपडी प्रथा र गरिवीले राष्ट्रमै मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चिनिएको छ भने बाजुरा र बझाङ गरिवीको सूचिमा पछाडी छ ।
उनले प्रश्न गरे– यहि प्रदेशबाट शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द चार÷चार पटक प्रधानमन्त्री बने भने भीम रावलसहित अन्य पनि यस प्रदेशको नेतृत्व गर्दै उपप्रधान तथा मन्त्री बनिसकेका छन् । तपाईहरू ईतिहास हेरर मूल्यांकन गर्नुहोस । परिवर्तन के भयो त ?’
उनले सामाजिक सञ्चालप्रति पनि रुष्टता व्यक्त गरे । ‘सरकारले गरेका कामलाई नहेरी बिरोध गर्न मात्रै प्यार प्यार कराउने प्रवृत्ति गलत हो’ उनले भने– कुन ठाउँमा गलत हुँदैछ यथार्त नबुझी सामाजिक सञ्जालमा टिप्पणी गर्छन् ।
उनले सरकार बिकासको तिब्र गतीमा भएपनि बिना तथ्य आरोप लगाउने प्रबृती गलत रहेको बताए । उनले सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने नेताहरूका फोटोमा कुकुरको फोटो जोडेर हाल्ने समयलाई हटाउन शुरु भइसकेको बताए । ‘अब सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्नेलाई कार्वाही गरिन्छ’ उनले भने ।
कार्यक्रममा संघिय संसद दामोदर भण्डारीले देश बिकासको तिब्र गतीमा रहेको बताए । उनले प्रदेशको खुटीया–दिपायल–चैनपुर फास्ट ट्रयाकको निर्माण भए प्रदेशलाई विकासको गतिमा अघि बढ्न कतैबाट रोक नहुने बताए ।
प्रेस क्लब कैलालीका अध्यक्ष हेमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा, नेकपा केन्द्रीय सदस्य महेश्वर पाठक, प्रदेश सभा सदस्य रतन थापा, वरिष्ठ पत्रकार उमिद बागचन, पत्रकार दीर्घराज उपाध्याय, इन्सेक प्रदेश संयोजक खडकराज जोशी, नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट, नाष्ट कलेज प्रमुख शिवहरी मुडभरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका उपाध्यक्ष भानुभक्त आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन शुशिल ढुङ्गानाले गरेका थिए ।
यस्तै, कैलालीको लम्की चुहा नगरपालिकामा अवस्थित हाईवे मिडिया प्रालिद्वारा संचालित लम्मी एफ.एमको मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका छन् ।
एफ.एमका प्रबन्ध निर्देशक तिर्थ जैशीको अध्यक्ष्तामा भएको कार्यक्रममा बैतडी जिल्लाका प्रतिनिधि सांसद दामोदर भण्डारी, नेकपा कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापा, नेपाली काङग्रेसका नेता मोहनसिंह राठौर, प्रेस काउन्सिलका सदस्य गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष जगत साउद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार