२२ बैशाख २०८१, शनिबार

घरदैलोमै लालपुर्जा वितरण




धनगढी/ शनिबार बिहानदेखिनै कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा मानिसहरूको भीडभाड थियो । भीडभाडमा गौरिगंगा नगरपालिका वडा नम्बर ११ का अशरानी चौधरीको मुहार हसिलो थियो । नापी कार्यालय धनगढीले वडामै आएर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जानकारी पाएपछि उनी खुशी हुँदै त्यहाँ पुगेकी थिइन् ।
नापी कार्यालयको टोलीले अशरानीको नाम बोलायो । उनी खुशी हुँदै मञ्चमा गइन् । मञ्चमा उनले कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबाट आफनो लालपुर्जा लिइन् । उनले भनिन्– घर दैलोमै लालपुर्जा पाउँदा खुशी लागेको छ ।
नापी कार्यालयले २०५६ सालदेखि २०५८ सालसम्म पुनर्नापी गरेको थियो । द्वन्दकालिन समयमा टोलीले पुनर्नापी गरे पनि जग्गाधनी प्रमाणपुर्जा भने बाड्न सकेको थिएन ।
कैलारी गाउँपालिका वडा नम्बर ८ का चेतराज चौधरीले पनि घरआंगनमै जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशी व्यक्त गरे । उनले भने– जग्गाधनी प्रमाणपुर्जा नहुँदा घरखर्च चलाउन आवश्यक रकमका लागि बैंकबाट ऋण लिन सकिएको थिएन ।
नापी कार्यालय धनगढीको टोलीले शनिबार कैलारी गाउ“पालिका वडा नम्बर ८, गौरिगंगा नगरपालिका वडा नम्बर १० र ११ (साविक उदासिपुर गाविस) मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने कार्यक्रम बनाएको थियो ।
सोही अनुसार नापी टोलीले ३९ जना पुरुष र १३ जना महिला गरि ५२ जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको जनाइएको छ । नापी कार्यालयका अनुसार ९७ जनालाई सो प्रमाणपत्र वितरण गर्ने लक्ष्य लिइएको थियो ।
कार्यालयले एक समारोहको आयोजना गर्दै जग्गा धनी प्रमाणपुर्जा वितरण गरेको थियो । सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले जग्गाधनीको प्रमाण नै लालपुर्जा भएको बताए । उनले भने– नेपालका अधिकांस मानिस कृषिमा निर्भर छन् । कृषि पेसा गर्नका लागि पनि जग्गाधनी प्रमाणपुर्जा आवश्यक हुन्छ ।
उनले भने– एक व्यक्तिको जग्गा अर्कोमा गएको हुन्छ । यसले दुई जनाबीच द्वन्द बढेको हुन्छ । त्यसैले नापीले यस्ता समस्या समयमै समाधान गर्नतर्फ ध्यान दिनुपर्छ ।
प्रजिअ बोहराले ‘कसैले ऐलानीपर्ति जग्गा तथा सरकारी जग्गा आफनो नाममा गर्न नपाउने रे गरेको पाइएमा कारबाही गरिने’ बताए ।
नापी कार्यालय धनगढीका प्रमुख सुर्दशनसिंह धामीले ढिलै भए पनि पुनःनापी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए ।
नापी अधिकृत दिर्घराज पाण्डेयले स्वागत गरेको कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नम्बर १० का अध्यक्ष पदम ऐर, वडा नम्बर ११ का अध्यक्ष विनोद चौधरी, कैलारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दुखीराम कठरिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार