४ जेष्ठ २०८१, शुक्रबार

भीम रावलप्रति ओलीको व्यङ्ग्य : नयाँ नयाँ कवि जन्मिए




काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका स्थायी समिति सदस्य नेता भीम रावललाई इङ्गित गर्दै कुण्ठा मात्रै बोकेर पार्टीमा कसैको भलो नहुने बताएका छन् ।
शनिवार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन पे्रस संगठनका पदाधिकारीहरुको शपथ ग्रहरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको सफतामा बोल्न नसक्ने नेताहरुले विरोधमा मात्र बोलेको आरोप लगाए ।
‘पार्टीको सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि जाँदैन’ ओलीले भने,‘कुण्ठा मात्रै बोकेर पार्टीमा कसैको भलो हुँदैन । पार्टी र सरकारले राम्रो गर्दा बोल्न नसक्ने ?’
ओलीले भने ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे कसैलाई कोही मान्छे मन पर्दैन होला । आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस् । सही नीतिले देश सञ्चालन गरेका छौं । फेरि विरोध किन ?
यस्तै प्रधानमन्त्री ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै नेता रावलप्रति व्यङ्ग्य समेत गरेका छन् । राष्ट्रियसभा निर्वाचनका बारेमा केही दिन पहिलाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले व्यङ्ग्य गर्दै कविता सुनाएका थिए । त्यसको खण्डन ओलीले गरेका हुन् ।
यस्तो थियो नेता रावलको कविता
अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनि यो दियो
धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो,
एक्कासी धूवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैँ फुट्यो ।

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो ।
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?
विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो ।

सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन ?
शीर्ष भनी कहलिने नेता हो इमानले भन,
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौं ।
जहाँ पाइन्छ सत्ता, धन यो जीवन त्यही नै जोडौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार