२ जेष्ठ २०८१, बुधबार

पोखरा प्रिमियर लिगको उपाधि चितवनलाई



पोखरा प्रिमियर लिगको उपाधि चितवनलाई

चितवन राइनोजले एउटा पनि खेल नहारी पोखरा प्रिमियर लिगकाे उपाधि जितेकाे छ।

काठमाडौं। अनिलकुमार शाह र रोहन मुस्तफाले अर्धशतकसहित तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि चितवन राइनोजले आज विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै पोखरा प्रिमियर लिगको उपाधि जितेको छ। 

गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग पराजित भएको छ। जितसँगै चितवनले एक खेल नहारी उपाधि जित्यो। उपाधिसँगै चितवनका करण केसी प्रतियोगितामा सबभन्दा धेरै(१४) विकेट लिने खेलाडी बने भने विराटनगरका पुनित मेहरा सबभन्दा धेरै (२३६) रन बनाउने खेलाडी बने। 

अनिलकुमार र रोहन दुवैले समान ५० रन बनाएपछि टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०२ रन बनायो। प्रतियोगितामा यो दाेस्रो ठूलो स्कोर हो। २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। 

चितवनका सन्नी पटेल र करण केसीले शुरूमै दुई विकेट लिएपछि प्रतियोगिताकै दाेस्रो ठुलो योगफलको लक्ष्य पछ्याएको विराटनगर दबाबमा पर्‍यो। ओपनर सुनिल धमला चार तथा लोकेश बम एक रन बनाएर पवेलियन फर्किए। त्यसपछि मुहम्मद जाइद अलाम र नोमन खानले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरे। 

दशौं ओभरको पाँचौ बलमा १८ रन जोड्दा नोमन खान रनआउट भए। लगत्तै ५७ रन बनाएका ओपनर मुहम्मद जाइद अलाम पनि रोहन मुस्तफाको बलमा भुवन कार्कीमार्फत क्याच भएपछि विराटनगरमाथि दबाब चुलियो। त्यसपछि कप्तान प्रदीप ऐरी र पुनित मेहराले ४६ रनको साझेदारी गर्दा विराटनगरको झिनो आशा कायमै थियो। 

तर, १७.५ ओभरमा पुनितलाई सन्नी पटेलले बिक्रम सोबको हातबाट क्याच गरेपछि विराटनरको उपाधि जित्ने सम्भावना सकिएका थियो। त्यसपछि आएका दीलिप नाथलाई करणले बाबरको हातबाट क्याच गरे। लगत्तै अर्को बलमा करणले प्रदीपलाई पनि आरिफ शेखमार्फत क्याच गरे। पुष्प थापा तीन र जितेन्द्र मुखिया सात रनमा अविजित रहे। 

चितवनका करण केसीले तीन, सन्नी पटेलले दुई र रोहन मुस्तफाले एक विकेट लए। 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा चितवनले पनि शुरूको दुई विकेट चाँडै गुमाएको थियो। ओपनर पारस खड्का २५ तथा बाबर हायत पाँच रनमा पवेलियन फर्किए। ४.४ ओभरमा बाबर हायत आउट हुँदा चितवन ४५–२ को स्थितिमा थियो। 

त्यसपछि अनिलकुमार र रोहनले तेस्रो विकेटका लागि ६३ बलमा ९५ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासे। अनिलकुमारले ३४ बलमा तीन चौका र ती छक्का प्राहर गरे भने रोहनले ४३ बलमा तीन चौका र एक छक्का हाने। 

त्यसपछि आरिफ शेखले १९ रनमा आउट हुँदा सन्नी पटेल १६ तथा करण केसी २६ बलमा अविजित रहे। करणले आठ बलमा दुई चौका र दुई छक्का हाने भने सन्नीले आठ बलमा दुई चौका हाने। 

विराटनगरका पुनित मेहराले दुई विकेट लिए भने किशोर महतो र मुहम्मद जाइद अलामले एक–एक विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार