१० श्रावण २०८१, बिहीबार

त्रिनगर माविको ४३ औं वार्षिकोत्सव



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयले आफ्नो ४३ औं वार्षिकोत्सव शुक्रबार धुमधामका साथ मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख वडले दुई वर्षको अवधिमा त्रिनगर मावि नमुना विद्यालयको सूचिमा परेको चर्चा गरे ।
उनले त्रिनगर माध्यमिक विद्यालय पढाई गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायतका पक्षमा अग्रणी स्थानमा रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले शैक्षिक सत्र २०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रधानाध्यापक खड्काले आगामी वर्षहरुमा बिद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउन विशेष प्रयास गरिने, विद्यालयमा सिसिटिभि क्यामेरा जडान गर्ने, आठ कोठे विद्यालय भवन निर्माण गर्ने, हाट बजारमा अतिक्रमित जग्गा भोगचलनमा ल्याउने र दुर्गमका विद्यार्थीका लागि होस्टेलको ब्यबस्था गर्ने योजना रहेको बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बिसीले त्रिनगरको पढाई गुणस्तर आफ्नो टिमको प्राथमिकताको बिषय भएको बताए ।
कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिमबहादुर बलायर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, प्रधानाध्यापक खड्काले आफ्नो वर्षे बिदाको तलवबाट विद्यालयका चार जना जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले चार जना जेहन्दार विद्यार्थीलाई जनही छ हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार