१२ श्रावण २०८१, शनिबार

अझैं एक साता शितलहर र तुषारो



धनगढी/ कैलाली सहित तराईका जिल्लामा शितलहर तथा बाक्लो तुषारोसंगै अत्यधिक चिसो बढेको छ । मंसिर महिनाको अन्तिम साता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भएको हिमपात तथा वर्षासंगै चिसो बढ्न थालेको थियो ।
जल तथा मौसम अनुमान विभागका अनुसार बिहीबार दिउँसो धनगढीको तापक्रम आठदेखि १२ डिग्री सेल्सियस रहेको थियो ।
त्यसैगरी दिपालयमा बिहीबारको न्युनतम तापक्रम तीन दशमलव पाच डिग्री र अधिकतम तापक्रम २० दशमलव चार डिग्री सेल्सियस रहेको थियो । भने डडेल्धुरामा बिहीबारको न्युनतम तापक्रम एक दशमलव सात डिग्री रहेको थियो ।
जल तथा मौसम अनुमान विभागका अनुसार बुधबार धनगढीको तापक्रम न्युनतम सात र अधिकतम ११ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो ।
त्यस्तै, बिहीबार दिपायलको न्युनतम तापक्रम चार दशमलव सात डिग्री रहेको थियो । त्यसैगरी मंगलबार धनगढीको न्युनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा दिपायलको तापक्रम छ डडेल्धुराको न्युनतम तापक्रम दुई दशमलव नौ डिग्री सेल्सियस थियो ।
त्यस्तै, सोमबार धनगढीको तापक्रम नौ दशमलव पाच, दिपायलको छ तथा डडेल्धुराको न्युनतम तापक्रम तीन दशमलव तीन डिग्री सेल्सियस रहेको थियो ।
यसैगरी, अक्कुवेदर एप्सले धनगढीको बिहीबारको न्युनतम तापक्रम छ तथा अधिकतम तापक्रम १४ डिग्री सेल्सियस देखाएको छ ।
जल तथा मौसम अनुमान विभाग तथा अक्कुवेदरका अनुसार कैलालीसहित तराईमा एक साता शितलहर तथा बाक्लो हुस्सु लाग्ने छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले धनगढी सहित जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सामुदायिक वनहरूसंगको समन्वयमा दाउरा वितरण गरेको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतले धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका विभिन्न स्थानमा दाउरा बितरण गरेको बताए ।
यसैगरी, सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरमा आगो बाल्ने अभियान सुरु गरेको छ । डिभिजन वन कार्यालय कैलाली र स्थानीय सामुदायिक वनहरूसंग समन्वय गरी विभिन्न स्थानमा आगो बाल्ने अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल, नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर, डोके बजार, धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोड, वडा नम्बर १८ को डिपोबजार, आदर्श टोल र पार्वती चोक, कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ११, गोदावरी नगरपालिका वडा नम्बर १ गेटा र बसपार्क चोक, लम्कीचुहा नगरपालिका–१ लम्कीचोक, बल्चौर चोक र मोतिपुरचोक, जोशिपुर गाउपालिका वडा नम्बर १ जोशीपुर बजारमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, भजनी नगरपालिका–२ भजनी बजार, भन्सार रोड र टीकापुर नगरपालिका–८ को सत्तिचोक र वडा नं.–९ को बालुवाटार र खकरौला गरी १८ स्थानमा आगो बाल्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार