१० श्रावण २०८१, बिहीबार

प्राविधिक शिक्षाको हब बनाउँछौ– नगर प्रमुख वड



कैलाली/ धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नगरलाई प्राविधिक शिक्षाको हब बनाउन पहल भइरहेको बताए ।
‘अहिले नगरपालिकाले आफनै प्राविधिक शिक्षालय सञ्चालन गरेको छ भने छ वटा विद्यालयमा प्राविधिक धारतर्फका कार्यक्रम सञ्चालन छन्’ आईतबार बेहडाबावा माध्यामिक विद्यालयको १८ महिने बाली विज्ञान कक्षाको उद्घाटन समारोहमा नगर प्रमुख वडले भने–आगामी वर्ष थप अन्य विद्यालयमा पनि प्राविधिक कक्ष सञ्चालन गर्न पहल गरिने छ । उनले माग र क्षेत्रको आवश्यकताका आधारमा प्राविधिक शिक्षा विस्तार गरिने बताए ।
‘वडा नम्बर १४ देखि १९ वडा कृषिमा बढी आत्मनिर्भर भएकाले यी क्षेत्रलाई लक्षित बाली विज्ञान तथा पशुपालन कक्षाको पठन पाठन गरिनुपर्छ भनेर जोड दिइरहेका छौं’ उनले भने–यस्तै शहरीकरण भएका क्षेत्रमा सिभिल इन्जिनियर, कृषि, अटोमोबाइल्स, होटल म्यानेजमेन्ट जस्ता शिक्षा विस्तार गरिरहेका छौं ।
उनले प्राविधिक शिक्षा पढेरमात्र नहुने व्यवहारमा लागु पनि गर्नुपर्ने विद्यार्थीहरुसंग अनुरोध गरे । उनले भने– तपाईहरु अहिले बाली विज्ञान पठनपाठन गरिरहनुभएको छ । पढेका कुरा व्यवहारमा लागु गरि समाजप्रति उत्तरदायी हुनुहोला ।
नगर प्रमुख वडले उपमहानगरपालिकाले बजारको मागका आधारमा जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई जोड दिएको बताए । भने– यहाँ दक्ष स्वास्थ्यकर्मी, कृषि विज्ञ, इन्जिनियर लगायतको जनशक्तिको अभावको गुनासो मात्र सुनिन्छ । त्यसैले ‘उपमहानगरपालिकाले आफै जनशक्ति उत्पादन गर्ने’ योजना अनुसार यी कार्यक्रम ल्याइएको छ ।
बेहडाबाबा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार ओझाको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरी, प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका उपनिर्देशक देवसिंह धामी, हनुमान चौधरी, विद्यालय व्यवस्थापन समिति सदस्य विरबहादुर बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गौरिप्रसाद जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार