१२ श्रावण २०८१, शनिबार

माया विक बलात्कार तथा हत्या घटना : १६ महिना पुग्दा पनि पीडितले न्याय पाएनन्



शेरबहादुर ऐर/धनगढी । २०७५ साल असार १५ गते चुनरी (दुपट्टा) ले घाँटी तथा सुरुवालले दुवै हात पिठ्यूमा बाँधेको अवस्थामा कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ११ चपरथली सामुदायिक वनमा २१ वर्षीय माया विक मृत अवस्थामा फेला परिन् ।


सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले असार २२ गते गौरीगंगा नगरपालिका वडा नम्बर ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरीलाई पक्राउ ग¥यो ।
कैलाली जिल्ला प्रहरी कार्यालयले साउन १३ गते कैलाली जिल्ला अदालतमा अपहरण, जवरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता ग¥यो । सो मुद्दा दर्ता भएको एक वर्ष चार महिना पुगेको छ । अहिले सो मु्द्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।
अदालतमा दायर भएका जघन्य अपराधका मुद्दाहरुमा पीडितले न्याय पाउन वर्षौ कुर्नु परिरहेको अवस्था रहेको छ । कहिले सरकारी वकिलको आग्रह त कहिले प्रतिवादी तर्फको कानुन व्यवसायीको आग्रहमा त कहिले इजलासनै नबस्दा अदालतले मुद्दा स्थगित गर्नुपर्ने अवस्था रहेको छ ।
कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४÷७५ का सात सय ७८ मुद्दा ०७५÷७६ मा जिम्मेवारी सरि आएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा एक हजार सात सय ६३ गरि जम्मा दुई हजार पा“च सय ४१ थान मद्दा रहेको जनाइएको थियो । त्यसमध्ये एक हजार दुई सय ६७ मुद्दा फैसला भई एक हजार दुई सय ७४ मुद्दा बा“की रहेको थियो । सो मुद्दामा १६ महिना लाग्दा समेत फैसला हुन नसकेका एक सय ४५ रहेका थिए भने १८ महिना नाघेका मुद्दा ५६ वटा रहेका छन् ।

माया विक बलात्कार तथा हत्या मुद्दा : नौ पटक स्थगित

२०७५ साल साउन १३ गते कैलाली जिल्ला अदालतमा अपहरण, जवरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी दर्ता भएको पीडित माया विकको मुद्दाको अहिलेसम्म नौ पटक स्थगित भएको छ भने एक पटक आदेश जारी भएको छ ।
कैलाली जिल्ला अदालतका अनुसार २०७५ कार्तिक १५ गते पहिलो पेशी तोकिएकोमा सरकारी वकिल कार्यालयबाटै स्थगित गराउन आग्रह गरिएको थियो । सो निवेदनमा सरकारी वकिल कार्यालयबाट ‘वयान, कागजपत्र लगायत नक्कल कागज ल्याउन बा“की’ उल्लेख छ । सो अग्रहपछि अदालतले मंसिर १९ गतेको पेशी तोक्यो पुनः सरकारी वकिलबाटै स्थगितको माग गरियो । सो बेला ‘नक्कल मिसिल उच्च अदालतको सरकारी वकिल कार्यालय रहेको’ कारण देखाइएको थियो । अदालतले सो दिन पनि स्थगित गरि पुस २५ गते पेशी तोक्दा समेत सरकारी वकिल कार्यालयले पुनः मिसिल नआएको भन्दै स्थगित गराउन आग्रह गरेको थियो ।
कार्तिकदेखि माघसम्म सरकारी वकिल कार्यालयबाटै स्थगितको अनुरोध भएपनि फागुन २३ गतेको पेशीमा प्रतिवादीको कानुन व्यवासायीबाट स्गगितको अनुरोध गएको थियो । सो निवेदनमा ‘मिसिल अध्ययन गर्न नपाएको’ उल्लेख थियो । कैलाली जिल्ला अदालतले चैत २१ गतेको पेशी तोक्यो तर, सो दिन इजलास नबस्दा स्थगित भयो ।
चैत २१ पछि मुद्दाको अर्को पेशी जेठ १६ गते तोकिएको थियो । सो दिन कानुन व्यवसायीले आफु दिपायल गएको भन्दै स्थगितको अनुरोध गरेका थिए । प्रतिवादीको आग्रहमा स्थगित गर्दै अदालतले असार १२ गते पनि प्रतिवादी कानुन व्यवासायीकै आग्रहमा स्थगित भएको कैलाली जिल्ला अदालतले जनाएको छ । भदौ ५ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहबाट स्थगित गरिएपछि असोज ७ गते बहस नोट पेश गरिएको थियो ।
जिल्ला न्यायधिश कृष्णप्रसाद शर्माको इजलासले असोज ७ गते ‘कल डिटेल झिकाउन’ आदेश जारी गरेको थियो । सोही आधारमा कैलाली जिल्ला अदालतले नेपाल टेलिकमलाई ‘कल डिटेल उपलब्ध गराईदिन’ भनी पत्र पठाएको थियो । अदालतका श्रेष्तेदार भुवन गिरीले भने –‘नेपाल टेलिकमले प्रहरी बाहेक अन्यलाई सो विवरण उपलब्ध नगराउने भने पछि सोही पत्र प्रहरी कार्यालयमा पठाएका थियौं ।’ अदालतले कार्तिक ४ गते पुन कैलाली प्रहरीलाई ‘कल डिटेल उपलब्ध गराईदिन’ भनी ताकेता गरेपनि हालसम्म प्राप्त हुन नसकेको जनाएको छ ।
श्रेष्तेदार गिरीले भने– कल डिटेल प्राप्त भएपछि मात्र अर्को पेशी चढछ ।

घटना के थियो ?

२०७५ साल असार १२ गते बेपत्ता भएकी गौरीगंगा नगरपालिका वडा नम्बर ११ का माया विक १५ गते चपरथली सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
असार ५ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षण कार्यका लागि एक महिनाको करार सेवामा काम गर्न थालेकी माया बेपत्ता भएको तीन दिनपछि सो सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न रहेका गौरीगंगा वडा नम्बर ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरीलाई पक्राउ गरेको थियो ।
मायासँगै काम गर्ने गणेशले असार ८ गते यौन सम्पर्कको प्रस्ताव गरेको र उनले सोझै इन्कार गरेकी थिइन् । त्यसको तीन दिनपछि ११ गते गणेशले उनलाई जबरजस्ती गर्न खोजे पछि मायाले प्रतिकार गरेकी थिइन् ।
गणेशले मायाले आफनो यौन प्रस्ताव अस्वीकार गरेको झोकमा साथीहरूलाई ८० हजार रुपैयाँ दिने प्रलोभन दिएर सामुहिक बलात्कारको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । गणेश, मनोज लगायतका अभियुक्तले मायाको हात बाँधेर तथा कागज र रुखका पातले मुख बन्द गरेर सामुहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार