१० श्रावण २०८१, बिहीबार

संसदीय पत्रकारिता कार्यशाला सुरु



बर्दिया / बर्दियाको ठाकुराद्वारामा शनिबारदेखि संसदीय पत्रकारिता कार्यशाला सुरु भएको छ । युएनडीपी, संसद सहयोग परियोजनाकोे सहयोगमा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा सुरु भएको कार्यशालामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ का गरेर २४ जना पत्रकारहरूको सहभागिता रहेको छ ।
आयोजक संस्था सञ्चार प्रतिष्ठानका सचिव भीम चौधरीका अनुसार प्रदेश सभा र संसदीय अभ्यासका विविध पक्षबारे ज्ञानसीप प्रदान गर्ने, राज्य संरचना परिवर्तन पछिका रिपोर्टिङ अनुभव आदान प्रदान गर्ने तथा प्रदेश तथा स्थानीय सञ्चार गृहमा संसदीय मामिला स्थानीय शासनसम्बन्धी बिट रिपोर्टर तयार गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा नेपालमा संघीयताको अर्थ र महत्व, अभ्यास तथा चुनौति, संसदीय रिपोर्र्टिङका सैद्धान्तिक तथा व्यवहारिक पक्ष, प्रदेशसभा र संसदीय अभ्यासमा मिडियाको प्रस्तुति र कमजोरी, प्रदेश सभामा विधेयक निर्माण प्रक्रिया, संसदीय समिति र कामकारबाही तथा संसदमा खोज पत्रकारिता लगायतका विषयमा छलफल हुने सचिव चौधरीले बताए ।
कार्यशालाको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले उद्घाटन गरे । सो अवसरमा पूर्व अध्यक्ष गाउँलेले प्रभावकारी संसदीय रिपोर्टिङले अहिलेको राजनीतिक प्रणालीलाई बलियो बनाउन योगदान पु¥याउने चर्चा गरे । उनले संसद र नागरिकबीच संवादको संस्कृति विकास गर्न सञ्चार क्षेत्रको अहम् भूमिका रहेको बताए ।
कार्यक्रममा अन्नपूर्ण दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले संसदलाई सक्रिय तथा जनमुखी बनाउन सञ्चार क्षेत्रले अग्रसक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
युएनडीपी, संसद सहयोग परियोजनाका संसदीय मामिला अधिकृत पार्वती कुमारी भण्डारीले संसदका गतिविधि सुस्त हुदा सञ्चार क्षेत्र अझ बढि क्रियाशील हुनुपर्ने र संसदमाथि नागरिक निगरानी बृद्धि गर्न भूमिका निर्वाह गर्नुपर्ने बताइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपसभापति चित्राङ्ग थापा, संसदीय पत्रकार समाज प्रदेश नम्बर ५ का अध्यक्ष बिष्णु घिमिरे, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा र सुदूरपश्चिम प्रदेशका महासचिव गोविन्द रोस्याराले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबिक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार