१२ श्रावण २०८१, शनिबार

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न कुटनीतिक पहल– मन्त्री भट्ट



धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।


प्रेस संगठन नेपाल सुदूरपश्चिम कमिटीले बिहीबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक रुपमा छलफलको गरिरहेको बताए । सरकारले सीमा अतिक्रमण सम्बन्धी समस्या समाधानका लागि गम्भीर रहेको बताउँदै उनले अन्तराष्ट्रिय मान्यता अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल भइरहेको बताए ।
मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्तरोन्नति गरी नेपाललाई आर्थिक रुपमा सवल राष्ट्र बनाउने पनि बताए । व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन दिने सरकारको नीति रहेको उनको भनाइ छ । त्यसका लागि ग्राम उद्योग कार्यक्रम अन्तरगत गाउँगाउँमा छरिएर रहेको उद्योगहरुलाई केन्द्रित गरिने मन्त्री भट्टले बताए ।
उनले कैलालीको डुडेझाडी र कञ्चनपुरको छेला–दैजीमा घोषणा गरिएको विशेष आर्थिक क्षेत्रलाई तत्काल अगाडि बढाउने समेत बताए । मन्त्री भट्टले अवका दिनमा सुदूरपश्चिममा रहेका उद्योगहरुलाई समस्या पर्न नदिनका लागि समेत पहल गरिने बताए । उनले प्रदेश र संघीय सरकारले बनाइरहेको कानुनले समेत सुदूरपश्चिम प्रदेशमा नयाँ उद्योग खोल्न मद्दत गर्ने बताए । कानुन र विशेष आर्थिक क्षेत्र बनेपछि यहाँ रहेका उद्योगहरुलाई जग्गा र वातावरणको समस्या नहुने समेत बताए ।
नेपाल सरकारले यसै वर्ष नीति तथा कार्यक्रम मार्फत् घोषणा गरेको धनगढी–अत्तरियालाई औद्योगिक करिडोरलाई समेत अगाडि बढाइएको बताए । उनले गौरीफन्टा नाकाको स्तरोन्नति र सुख्खा बन्दगाहाको स्थापना गर्नका लागि समेत नेपाल सरकारले पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार