२१ मंसिर २०८२, आईतवार

सिमा विवादबारे कुरा गर्न विशेषदूत पठाउँदैछौं– प्रचण्ड



धनगढी । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको अतिक्रमित भुभागको विषयमा कुरा गर्न माधव नेपाललाई भारत पठाइने बताएका छन् ।


प्रेस संगठन नेपालले बिहिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको विषयमा विशेषदूतका रुपमा नेकपाका बरिष्ठ नेता नेपाललाई भारत सरकारसंग कुरा गर्न पठाउने तयारी भइरहेको जानकारी दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बरिष्ठ नेता नेपाललाई विशेषदूतको रुपमा भारत जान आग्रह गरेको बताए । उनले भारत सरकारसंग छलफलका लागि उच्चस्तरीय भेट र बैठकको व्यवस्था गर्ने काम बाँकी रहेको बताए । अध्यक्ष प्रचण्डले नेपाल सरकारको तर्फबाट भारत सरकारसंग कुरा गर्ने विषयमा तयारी भइरहेको बताए ।
अध्यक्ष प्रचण्डले नेपाली भुमी अतिक्रमणको विषयलाई कुटनीतिक पहलबाट टुंगो लगाउनुपर्ने बताए । उनले यो विषयलाई शुरुमै अन्तर्राष्ट्रियकरण गर्दा समस्या झन जटिल हुने बताए । उनले नेपाल सरकारले सो विषयमा भारत सरकारलाई पत्र पठाएको र त्यसको जवाफ आउन बाँकी रहेको बताए ।
अध्यक्ष प्रचण्डले आफूले नै त्रिदेशीय साझेदारीका लागि भारत र चीनका नेतालाई आठ वर्षअघि आग्रह गरेको स्मरण गरे । उनले सबै मुलुक सार्वभौम रहेकाले तीन देशकै छुट्टाछुटटै अस्तित्वमा त्रिदेशीय साझेदारी हुने सहमति पछिल्लो समयमा जुटेको बताए । यो साझेदारी भएमा नेपालको आर्थिक, भौतिक पूवाधार, सामाजिक विकास लगायतमा टेवा पुग्ने अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार