३० बैशाख २०८१, आईतवार

खप्तडलाई कृषि पर्यटनसंग जोड्न तीन ठाउँमा होमस्टे स्थापना गरिने



मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड राष्ट्रिय निकुञ्जलाई कृषि पर्यटनसंग जोड्ने प्रयास अघि बढाएको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई कृषि पर्यटनसंग जोड्ने क्रममा खप्तडसम्मको मार्गमा होमस्टे बनाउने तयारी गरेको छ ।


सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयले खप्तडसम्मको सडक खण्डको बझाङ दारुगाउँमा होमस्टे सञ्चालनका लागि अध्ययन गरेको जनाएको छ । कृषि निर्देशनालयले डोटीको झिंराना र अछामको रामारोशनमा समेत होमस्टेका लागि अध्ययन गर्ने तयारी गरेको छ । कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले दारुगाउ“मा पहिले गठित समितिसंग छलफल गरी स्थानीयलाई होमस्टेबारे अभिमुखीकरण गरिएको बताए । उनले झिंराना र रामारोशनमा पनि स्थानीयका लागि अभिमुखीकरणको तयारी भइरहेको बताए ।
प्रदेश सरकारले ती ठाउँमा कृषि पर्यटनका लागि होमस्टे सञ्चालन गर्न ८० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । सो बजेटबाट खप्तड भ्रमणमा आउने पर्यटकका लागि बास बस्ने घर बनाउनुका साथै घर वरपरि विभिन्न बाली लगाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार होमस्टे वरिपरि तरकारी, फलफूल, कोदो, फापर, आलु लगायतका बाली लगाउने गरी होमस्टेको अवधारणा ल्याइएको छ । खप्तड भ्रमणमा आउने पर्यटकलाई उनीहरुको चाहना र अर्डर अनुसार बारीबाटै तरकारी, फलफूल पस्किने गरी होमस्टेको अवधारणा बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले होमस्टेमा पर्यटकहरुले बारीमा गएर आफूले इच्छा गरेको तरकारी तथा फलफूल छान्न सक्ने व्यवस्था मिलाइने बताइन् ।
“खप्तडलाई लक्षित गरेर एकै किसिमको घर बनाउने र त्यहाँको कृषिलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ’ मन्त्री चौधरीले भनिन्– विदेशी पर्यटकहरु रसायनिक मल तथा विषादी प्रयोग भएको उत्पादन रुचाउदैनन् । त्यसैले कृषिलाई पर्यटनसंग जोड्दै त्यस क्षेत्रमा अर्गानिक खेती गर्ने व्यवस्था गरिने छ ।
मन्त्री चौधरीले स्थानीय कृषि उत्पादनबाट विभिन्न परिकार तयार गरी पर्यटकलाई पस्किने तालीम समेत सञ्चालन गरिने बताइन् । “हामीले ३० जना युवालाई आलुका विभिन्न परिकार बनाउने तालीम दिएका छौ’ उनले भनिन्– आलुको तरकारी मात्रै नभए आलुबको अचार, मःमः लगायतका ३५ परिकार बनाउन सिकाइएको छ । अन्य कृषि उत्पादनका परिकार बनाउने तालिम पनि दिइने छ ।
कृषिलाई पर्यटनसंग जोड्दै स्थानीयस्तरमा स्वरोजगारको व्यवस्था समेत मिलाउने भएको छ । मन्त्री चौधरीले भनिन्– कृषि पर्यटनले स्थानीय बासिन्दालाई स्वरोजगार बनाउनुका साथै आयआर्जनमा समेत मद्दत गर्नेछ ।

खप्तडमा आवास गृह निर्माण हुँदै

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले खप्तडमा एक सय जनाको क्षमताको पर्यटक आवास गृह निर्माणको तयारी गरेको छ ।
नेपाल पर्यटन विकास बोर्डले खप्तडमा आवास निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेपछि राष्ट्रिय निकुञ्जले आवास गृह निर्माण गरिरहेको जनाएको छ । राष्ट्रिय निकुञ्जको कार्यालयले बीचपानीमा २५ बेडको विश्राम गृह र खप्तडमा एक सय बेडको आवास गृह बनाउन टेन्डर आव्हान गरेको समेत जनाएको छ ।

खप्तड रिंङरोड बनाउने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र वरिपरी चक्रपथ (रिङरोड) बनाउने तयारी गरेको छ । खप्तड आधार शिविरहरु छुने गरी निर्माण गरिने रिङरोडको अध्ययन समेत प्रदेश सरकारले गरिसकेको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले एकीकृत खप्तड पर्यटन विकास कार्यक्रमका लागि तीन करोड रुपैया“ विनियोजन गरेको जनाएको छ ।
सुदूरपश्चिम आउने पर्यटकहरुको पहिलो रोजाई खप्तड बन्न थालेपछि खप्तड केन्द्रित पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य लिएको प्रदेशको पर्यटन मन्त्रालयले खप्तडमा पुर्वाधार निर्माणका लागि विभिन्न शिर्षकहरुमा बजेट विनियोजन गरेको छ ।

खप्तड र रामारोशन पर्यटन विकास समिति गठन गर्न ढिलाई

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खप्तड र रामारोशन क्षेत्र पर्यटन विकास समिति गठन गर्न ढिलाई गरेको छ ।
प्रदेश सरकारले मन्त्रालयलाई सो समिति गठन गर्न गठनादेश दिइसकेको भएपनि मन्त्रालयले गठन गर्न नसकेको हो । प्रदेशको मन्त्रीपरिषद्ले रामारोशन क्षेत्री पर्यटन विकास समिति र खप्तड पर्यटन विकास समिति गठनादेश गत असार १० गते स्वीकृत गरेको थियो ।
मन्त्रालयका सूचना अधिकारी प्रवक्ता तथा सूचना अधिकारी भरतप्रसाद श्रेष्ठले ति समिति गठन गर्नका लागि पर्यटन मन्त्रालयले समितिको नामावली सिफारिस गर्ने र मुख्यमन्त्रीले स्वीकृत गर्ने व्यवस्था गरिएको बताए । उनले राजनीतिक नियुक्ति हुने भएकाले पनि सिफारिस गर्न ढिलाई भएको बताए । उनले गठन सो समिति गठनका लागि मन्त्रालयमा कुनै तयारी नभएको समेत जनाए ।
पर्यटन मन्त्रालय विकास समिति गठन र सञ्चालनका लागि ५०/५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार