१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सञ्चार नीति बनाउन सुरसार नै छैन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अझैं आम सञ्चार नीति बनाउने सुरसारसम्म गरेको छैन । मुलुकका अन्य प्रदेशमा सञ्चार नीति निर्माण प्रक्रिया जारी रहेको भए पनि सुदूरपश्चिम प्रदेश सरकारले अझसम्म पहल गरेको छैन ।


सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा एफएम रेडियो तथा टेलिभिजनलाई व्यवस्थित गर्न विधेयक ल्याउने तयारी गरे पनि प्रादेशिक सञ्चार नीति ल्याउनका लागि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी विधेयकको मस्यौदा तयार गरिसकेको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले अनुमोदनसंग भने– तर, प्रादेशिक आम सञ्चार नीतिबारे अहिलेसम्म कुनै छलफल तथा मस्यौदा तयार भएको छैन ।
उनले प्रदेशमा एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको बताए । भने– यस सम्बन्धी मस्यौदा तयारी भएर प्रदेशका आठ वटा जिल्लामा छलफल भइसकेको छ । कैलालीमा छलफल गरि यसलाई अन्तिम रुप दिने तयारीमा छौं । उनका अनुसार आगामी प्रदेश सभाको हिउदे अधिवेशनमा एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी विधेयक पारित गरिने बताए ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले आगामी हिउदे अधिवेशनबाट सञ्चार नीति ल्याइने बताए । ‘हामी प्रदेश सभाको आगामी हिउदे अधिवेशनबाट प्रादेशिक सञ्चार नीति ल्याउने तयारीमा छौं’ मन्त्री शाहले भने– सञ्चार क्षेत्रको सल्लाह सुझावका आधारमा नै प्रादेशिक सञ्चार नीति निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार